कोरोना अमेरिकासमेत पुग्यो, एक जनाको मृत्यु

Advertisement

वासिंगटन । कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकामा एक जनाको मृत्यु भएको छ । कोभिड १९ बाट संक्रमित वासिंगटनका ५० वर्षीय व्यक्तिको शनिबार मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

ती व्यक्ति हालसालै कतै नगएको र संक्रमित व्यक्तिको सम्पर्कमा पनि नरहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका डाक्टर रोबर्ट रेडफिल्डले बताए ।

कोभिड १९ का कारण अमेरिकामा मृत्यु भएको यो पहिलो घटना भए पनि अमेरिकी नागरिकको मृत्यु भएको भने यो पहिलो घटना होइन । यसअघि वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो अमेरिकामा कोभिड १९ को प्रकोपको खतरा कम रहेको भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप संक्रमणको सम्भावना भए पनि अमेरिका पूर्ण रुपमा तयार रहेको बताए ।

अमेरिकी अधिकारीहरुका अनुसार इरान, दक्षिण कोरिया, इटालीलगायतका देशबाट आउने यात्रुलाई केही समय प्रतिबन्ध लगाइने भएको छ । अमेरिकामा ६८ जनामा संक्रमण देखिएको छ ।

डिसेम्बरमा चीनको वुहानमा कोरोना संक्रमण देखिएयता विश्वभर करिब ३ हजारको मृत्यु भइसकेको छ । त्यस्तै विश्वका ५० भन्दा बढी देशमा ८६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

आइतबार बिहानसम्म चीनमा मात्रै २८७० को मृत्यु भएको छ भने ७९ हजार ८ सय २६ संक्रमित भएका छन् । त्यस्तै इरानमा ४३ जनाको मृत्यु भएको छ भने ५९३ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा १७ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सय २६ जनामा संक्रमण देखिएको छ । इटालीमा २९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या एक हजार एक सय २८ रहेको छ ।

त्यस्तै जापानमा ११ जनाको मृत्यु भएको छ भने एक हजार २ सय ९८ मा संक्रमण देखिएको छ । त्यस्तै कोभिड १९ का कारण फ्रान्स र हङकङमा २।२ जना तथा फिलिपिन्स, ताइवान र अमेरिकामा १।१ जनाको मृत्यु भएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement