कर तिर्न पनि सास्ती, त्यसमाथि कर्मचारीको रुखो व्यवहार

Advertisement

धनगढी । सुदूरपश्चिमस्थित पाँच जिल्लाका करदाता अहिले पनि कर तिर्न धनगढी आउनुपर्ने बाध्यता छ । कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका करदाता कर तिर्न धनगढी आउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।

धेरै टाढादेखि आए पनि करदाताले सजिलो तरिकाले कर तिर्ने सुविधा अझै पाउन सकेका छैनन् । धनगढीमा रहेको आन्तरिक राजस्व कार्यालयमा कर तिर्न आउने प्रायः करदाताको एउटै गुनासो हुने गर्छ– देशमा जुनसुकै शासन आए पनि कर्मचारीको व्यवहारमा परिवर्तन आएन ।

करदाता मात्रै होइन, लेखापरीक्षकको अनु्भव पनि यस्तै छ । धनगढीका एक लेखापरीक्षकका अनुसार कर तिर्न जाने सेवाग्राहीको गुनासो हुन्छ– कर कार्यालयका कर्मचारीले किन हामीलाई जरिवाना तिर्न आएका अभियुक्त वा अपराधीलाई जस्तो व्यवहार गर्छन् ?

बाख्रापालनसम्बन्धी फर्मको पान नम्बर लिन कर कार्यालय आएका कैलाली गौरीगङ्गा नगरपालिका–१० का उद्धवसिंह धामीले भने, “कुनै कुरा सोध्यो भने कर्मचारी बोल्दैनन् । कर्मचारीले कुनै उपाय नबताएपछि बाध्य भएर आन्तरिक राजस्व कार्यालयको पर्खालबाहिर रहेका करसम्बन्धी लेखापढी गर्ने व्यक्तिको सहारा लिएर काम गरेँ ।”

आन्तरिक राजस्व कार्यालयमा कर तिर्न वा पान नम्बर लिन वा कुनै पनि कामविशेषले आउने प्रायः सेवाग्राहीको अनुभव यस्तो छ– सेवाग्राहीसँग बोल्नुपर्दा कर्मचारीहरू पैसा पर्छ झैँ गर्छन् । कैलालीको कैलारी गाउँपालिका रतनपुरका रमेश चौधरीले भने, “हामी करदातालाई कर्मचारीले उचित सम्मानसहित सेवा दिनुपर्ने होइन ? हामीले बुझाएको करले राज्य सञ्चालन हुन्छ, तलब सेवासुविधा पाउँछन् ।”

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement