सबै शैक्षिक परामर्श संस्था शुक्रबारदेखि बन्द हुने, सहयोगमा एकजुट हुन इक्यानको अपिल

Advertisement

काठमाडौँ । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) ले शुक्रबारदेखि इक्यान अन्तर्गतका सम्पूर्ण शैक्षिक परामर्श दातृ संस्था बन्द गर्ने निर्णय गरेको छ । चीनबाट फैलिएको कोभिड–१९ नामक कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले सम्पूर्ण शैक्षिक संस्थासहित शैक्षिक परामर्श दातृ संस्थाहरु बन्द गर्ने निर्णय गरेसँगै सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय गरेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

‘महामारीबाट बच्न हरेक नागरिकले आफू नै सचेत भएर सावधानीका उपायहरु अपनाउनु अति आवश्यक भएको छ । त्यसैले सम्पूर्ण संस्था बन्द गर्ने निर्णय भएको हो,’ उनले भने । नेपाल सरकारले सबै शैक्षिक संस्था लगायत मानीसहरुको चहलपहल हुन सक्ने सबै क्षेत्रहरुलाई आगामी चैत्र मसान्तसम्म बन्द गर्ने सरकारको निर्णयलाई समर्थन गर्दै सबै सदस्य संस्थाका कार्यालय तथा संघका कार्यालय समेत आगामी चैत्र मसान्तसम्मका लागि बन्द गरिएको इक्यानद्वारा सूचनामा भनिएको छ ।

इक्यानले सबै सदस्य कम्पनीहरुलाई निवासबाट नै सम्भव भएसम्म व्यवसायीक कार्यहरु सञ्चालन गर्न समेत भनेको छ । ‘अति आवश्यक अवस्थामा मात्र सीमित व्यक्तिबाट जरुरी काम सम्पन्न गर्ने तर आमरुपमा सबै कार्यालयहरु आगामी चैत्र मसान्तसम्म बन्द गर्दै आफ्नो र परिवार अनि समूदायको स्वास्थ्य रक्षाका लागि सावधान रहन, सचेतनता अभिवृद्धि गर्न तथा कोही कोरोना भाइरस संक्रमित फेला परेमा तत्काल स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्नहुन आग्रह गरिएको छ,’ सूचनामा भनिएको छ ।

इक्यानले यस घडीमा धैर्य धारण गर्दै शान्ति र सावधानिपूर्वक समस्यासँग जुध्न सबैमा आह्वान समेत गरेको छ । यसका लागि इक्यान केन्द्रीय समिति तथा शाखा समितिका पदाधिकारी र कार्यालयका कर्मचारी साथीहरुसँग मोबाइल र इमेलमार्फत सम्पर्क गर्न सक्ने समेत बताएको छ । साथै माहामारीका सन्दर्भमा राहत जुटाउने सम्बन्धमा समेत सदस्य कम्पनीहरुले के कसरी राज्य, समाज र पीडितहरुलाई राहत प्रदान गर्न सकिन्छ त्यसका लागि आवश्यक राय, सल्लाह र पहलकदमी लिन सम्पूर्ण सदस्य कम्पनीहरुलाई आह्वान गरेको छ ।

इक्यानले सबैलाई नियमित रुपमा सावुन पानीले राम्ररी हात धुन, सकेसम्म भिडभाड हुने स्थानमा नजान, घर बाहिर निस्कँदा सम्भव भएसम्म मास्कको प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन, पाको उमेरका र स्वास्थ्य समस्या भएका अभिभावक, अशक्त तथा बालवालिकाहरुलाई विशेष रुपमा एकान्तमा नै राख्न समेत आग्रह गरेको छ । साथै शंकास्पद अवस्थामा होम क्वारेन्टाइनमा बस्न र संक्रमणको शंका भएमा परिवारका सदस्यबाट टाढा रहँदै तत्काल स्वाथ्य संस्थामा जान समेत सुझाव दिएको छ ।

इक्यानले कालोबजारीलाई रोक्न इक्यान र सदस्य कम्पनीको दायित्व भएकाले दैनिक उपभोगका वस्तु, औषधि तथा मास्कलगायतको कालोबजारी भएको सूचना पाउनासाथ नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानिय जनप्रतिनिधि, सञ्चारकर्मी लगायत सम्वन्धित निकायमा तत्कालै सूचित गर्न समेत आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement