चालू आवको आठ महिनामा २.६ प्रतिशत आयात घट्दा २२ प्रतिशतले बढ्यो निर्यात

Advertisement

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा कूल आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालू आवको आठ महिनामा कूल रु नौ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार बराबरको आयात भएको छ । यो गत आवको तुलनामा करीब रु २५ अर्ब कम हो । आव २०७५/७६ को सोही अवधिमा कूल रु नौ खर्ब ४९ अर्ब १० करोड ९८ लाख २८ हजार बराबरको आयात भएको थियो ।

यस्तै सोही अवधिमा कूल रु ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार बराबरको निर्यात भएको छ । आव २०७५/७६ का तुलनामा चालू आवको आठ महिनामा निर्यात कूल २२ दशमलव ३५ प्रतिशतले बढेको छ । सो आवमा कूल रु ६१ अर्ब २२ करोड ४२ लाख ८९ हजार बराबरको निर्यात भएको थियो ।

विभागका अनुसार मुलुकको कूल व्यापार रु नौ खर्ब ९९ अर्ब १५ करोड पाँच लाख ८१ हजार बराबर भएको छ । गत आवमा भने रु १० खर्ब १० अर्ब ३३ करोड ४१ लाख १८ हजार बराबरको व्यापार भएको थियो ।

पछिल्ला दिनमा विश्वव्यापीरुपमा कोरोनाको सङ्क्रमण बढेपछि चीनबाट आयात हुने मालवस्तु रोकिएका छन् । भारतबाट भइरहेको आयात भने रोकिएको छैन । विभागका अनुसार सबैभन्दा बढी आयात तथा निर्यातसमेत वीरगञ्ज भन्सारबाटै भएको छ । चालू आवको आठ महिनामा सो भन्सारबाट कूल रु तीन खर्ब १५ अर्ब ४८ करोड १४ लाख १५ हजार बराबरको आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा २३ दशमलब १३ रहेको छ ।

यस्तै सोही नाकाबाट कूल रु २३ अर्ब ७७ करोड ८० लाख पाँच हजार बराबरको निर्यात भएको छ । विराटनगर भन्सारबाट कूल रु ९९ अर्ब ४८ करोड २० लाख २५ हजार बराबरको आयात भएको छ । सोही भन्सारबाट कूल रु २० अर्ब ९९ करोड ४१ लाख ४४ हजार बराबरको निर्यात भएको छ ।

भैरहवा भन्सारबाट कूल रु एक खर्ब ५६ अर्ब ७७ करोड ५४ लाख ७३ हजार बराबरको आयात तथा रु दुई अर्ब २० करोड ९१ लाख १९ हजार बराबरको निर्यात भएको छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट कूल रु एक खर्ब १७ अर्ब ६८ करोड १७ लाख ७७ हजार बराबरको आयात हुँदा रु एक अर्ब ७६ करोड बराबरको निर्यात भएको छ ।

उता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारबाट कूल रु ९८ अर्ब ७४ करोड २९ लाख २४ हजार बराबरको आयात हुँदा रु १६ अर्ब ४५ करोड २२ लाख २४ हजार बराबरको निर्यात भएको छ । देशभर कूल २४ भन्सार कार्यालय सञ्चालनमा छन् । त्यसमध्ये १४ भन्सार कार्यालयबाट हुने निर्यात भने शून्यःप्राय छ ।

Advertisement

Advertisement

Advertisement