भारत र चीन दुवैतर्फका सबै नाकामा एक साता आवागमन बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

Advertisement

काठमाडौँ । मन्त्रिपरिषदको आइतबार बसेको विशेष बैठकले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको उच्च जोखिमलाई ख्याल गर्दै बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आवागमन बन्द गर्ने निर्णय गरेको हो।

बैठकले कोरोना भाइरसको महामारीका रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको छ । उक्त कोषका लागि सबै मन्त्रीले एक एक महिनाको पारिश्रमिक दिने निर्णय गरिएको छ।

पछिल्ला दिनमा भारतबाट हुलका हुल नेपाली घर फर्कन थालेसँगै कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले नाकाहरुबाट आवागमन नै बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाका अनुसार सरकारले बनाएको कोषमा देश विदेशबाट सहयोगका लागि सरकारले आह्वान गर्ने निर्णय भएको छ। आम नागरिक र देश विदेशबाट कोषमा स्वेच्छिक सहयोग गर्न सक्ने उनको भनाई छ ।

यस्तै सरकारले अन्तर्राष्ट्रिय हवाई यात्री सेवामा पनि पूर्ण रोक लगाउने निर्णय गरेको छ। यसअघि कोरोना संक्रमित मुुलुकमा हवाई सेवा बन्द गरिएको थियो। कार्गोलगायत अत्यावश्यक बस्तु आयात निर्यातका लागि मात्र अन्तर्राष्ट्रिय हवाई सेवा जारी राख्ने र यात्री सेवामा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

हवाई सेवालाई अत्यावश्यक सेवामा राखिएकाले आन्तरिक हवाइसेवा भने नरोकिने जनाइएको छ । सरकारले यसअघि नै लामो दुरीका सार्वजनिक यातायात सेवामा बन्द गर्ने निर्णय गरिसकेको छ । उपत्यकाभित्र भने सार्वजनिक यातायात यथावत सञ्चालन गर्न दिने र निजी यातायातका साधनमा रोक नलगाउने निर्णय गरिएको छ।

Advertisement

Advertisement

Advertisement