नेपाल हिँडेका सयौं नेपाली दिल्लीमा अलपत्र, खान बस्न पाएका उनीहरु दिल्ली प्रहरीले लखेटेर हैरान

Advertisement

नयाँदिल्ली । कोरोना भाइरसको त्रासका कारण नेपाल हिँडेका चार सयभन्दा बढी नेपालीहरु भारतको राजधानी नयाँदिल्लीमा अलपत्र परेका छन् । उनीहरु भारतका बैंग्लोर, चण्डीगढ, सिमलालगायतका ठाउँमा काम गर्दै आएका थिए ।

कोरोनाको त्रास बढेपछि घर फर्कनका लागि दिल्ली आइपुगेका हुन्। तर, भारतको केन्द्र सरकारले आइतबारदेखि यात्रुबाहक रेल र लामो दूरीमा चल्ने बस सेवा बन्द गरेपछि अहिले आइतबारदेखि उनीहरु दिल्लीस्थित आनन्द बिहार बसपार्कमा अलपत्र परेका हुन्।

‘दिल्ली आएपछि मात्र बस बन्द छ भन्ने थाहा भयो, पुरै अलपत्र पर्यौ’ दार्चुला, दल्लेखका सन्तोष चुनाराले भने। उनी बैंगलोरमा होटलमा काम गर्थे। कोरोनाको त्रासले काम गर्ने होटल बन्द भएपछि घर जान हिँडेको उनले बताए। ‘सबै काम ठप्प भयो, कोरोनाको डर पनि थियो, अनि घर जान आएको,’ चुनाराले भने।

चुनारासहित चार सयभन्दा बढी नेपाली अहिले आनन्द बिहारमा बसपार्क क्षेत्रमा अलपत्र परेका हुन्। स्थानीय प्रहरीले एक ठाउँमा बस्न नदिएका कारण अहिले उनीहरुको अवस्था निकै टिठलाग्दो छ। बसपार्कभित्र छिर्न नपाएपछि आफूहरु त्यतिकै सडक छेउमा बसिरहेको चुनाराले भने। ‘जता गए पनि प्रहरीले लखेट्छ, कहाँ जाने के गर्ने भएको छ ?’ उनले भने।

त्यसैगरी थप पच्चीसजना दिल्लीकै छतरपुरमा अलपत्र परेका छन्। उनीहरु दक्षिण भारतीय सहर बैंग्लोरबाट नेपाल जानका लागि दिल्ली आइपुगेका हुन्। सार्वजनिक यातायात नचलेका कारण उनीहरु अलपत्र अवस्थामा छन्। उनीहरु न त साबिककै ठाउँमा फर्किन सक्छन् न त घर नै जान सक्छन्। त्यसमाथि दिल्ली सरकारले सोमबारदेखि लकडाउन गर्दै धारा १४४ लागू गरेपछि उनीहरुलाई खाना र बस्नको समेत समस्या परेको छ।

अलपत्र परेका नेपालीहरुले सुरक्षित रुपमा घर पठाउन सरकारसमक्ष माग गरेका छन्। ‘अब यसरी सडकमा कति दिन बस्न सकिएला ? त्यसमाथि प्रहरीले सडकमै बस्न दिएको छैन। त्यसैले सरकारले चाँडो केही कदम चालोस्,’ चुनारले भने।

दिल्ली प्रवासी नेपाली संगठनहरुले अलपत्र परेका नेपालीहरुको उद्धारका लागि पहल भइरहेको बताएका छन्। अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले उनीहरुलाई दिल्लीमै राख्ने वा नेपाल फर्काउने भन्ने बारे दिल्लीस्थित नेपाली दूतावाससँग छलफल भइरहेको बताए। ‘भारतका विभिन्न ठाउँबाट आएकाहरु छन्। अब दूतावाससँगको समन्वयमा उचित प्रबन्ध गर्ने प्रयास झइरहेको छ’ खड्काले भने।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement