फोन नगर्दा पनि के तपाईंको मोवाइलको ब्यालेन्स घटिरहेको त छैन् ?

Advertisement

काठमाडौं । के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ– पैसा त्यत्तिकै सकिन्छ । उमेर ढल्केकाहरू बच्चाले ट्रान्सफर गरेको सोच्छन् भने अधिकांशले ख्यालै गर्दैनन् ।

सोमबार सामाजिक सञ्जालमा एनसेलले जानकारी नदिईकन नै दैनिक १५ रुपियाँभन्दा बढी ब्यालेन्स काटिरहेको पोस्ट भाइरल भएपछि धेरैले यो कुरा याद गरे । एनसेलले हुवावे गेम कन्टेन्ट र बिजनेस ह्यान्डलिङ शुल्कको नाममा दैनिक १५ रुपियाँ ३२ पैसासम्म ब्यालेन्स काट्छ ।

यसैगरी, नेपाल टेलिकमको मोबाइल डेटामा ब्यालेन्सबाट पटक–पटक नौ पैसा काटिएको स्क्रिन सट सामाजिक सञ्जालमा पोस्ट गरिएको छ ।

ग्राहकले नै विभिन्न अनलाइन विज्ञापन क्लिक गर्दा यो अटोमेटिक रूपमा एक्टिभ हुने गर्छ । फेसबुक, एन्ड्रोइड ह्यान्डसेटको एपीपी वा गुगल पेजमा डिजिटल विज्ञापन पेज क्लिक गरेपछि थर्ड पार्टी पार्टनरको सब्सक्रिप्सन पेज खुल्छ । पार्टनरको पेजमा सेवाग्राहीले कन्फर्मेसन गरेपछि एनसेलको सहमति प्राप्त पेज खुल्छ र त्यहाँ प्रयोगकर्ताको सब्सक्रिप्सन एनसेलले रि–कन्फर्म गरिदिन्छ । त्यसरी रि–कन्फर्म गर्दा त्यस्ता पेजमा प्रयोगकर्ताको निश्चित शुल्कमा निश्चित सेवा सब्सक्राइब हुन जाने गर्छ ।

होसियारीपूर्वक ती विज्ञापन हेरी सब्सक्राइब गर्दा पूर्णरूपमा पढेको भए पैसा लाग्ने वा नलाग्ने यकिन हुन जान्छ । तर, अधिकांशले यस्तो गर्दैनन् ।

अन्तर्राष्ट्रिय डिजिटल विज्ञापन एजेन्सीले प्रयोगकर्ताको ह्यान्डसेटमा डिजिटल विज्ञापन पठाउँछन् । यस्तो सब्सक्रिप्सनबाट बच्न विज्ञापनको नोटिफिकेसन राम्ररी पढ्नुपर्छ । सब्सक्रिप्सन बटन क्लिक राम्ररी नपढी कुनै पनि विज्ञापनलाई कन्फर्म नगर्ने हो भने यस्तो समस्या हुँदैन ।

यस्तो समस्याबाट पीडित ग्राहकले एनसेलको आधिकारिक फेसबुक पेजमार्फत र कलसेन्टरमा सम्पर्क गर्न सक्ने व्यवस्था रहेको छ । लगातार रूपमा पैसा काटिरहेको छ भने अंग्रेजीमा ‘एसटीओपी’ लेखेर १७७२४ मा एसएमएस पठाउनुपर्ने हुन्छ । यसो गर्दा पनि भएन भने एनसेल कल सेन्टरमा कल गरेर वा एनसेलको फेसबुकमा रिपोर्ट गर्नुपर्ने हुन्छ ।

मोबाइलको ब्यालेन्स कटौटी भए–नभएको जानकारी एनसेलको एपमार्फत जाँच गर्न सकिन्छ । नेपाल टेलिकममा काटिने ९ पैसा भने डेटा अन गरेपछि ब्याक ग्राउन्ड एप चलिरहँदा काटिएको हो । टेलिकममा अर्को डेटा अन गर्नेबित्तिकै उसले सेसन सेटअप गर्न खोज्छ । सेसन सेटअप मोबाइलअनुसार फरक–फरक हुन्छ ।

कुनै स्मार्टफोनमा ब्राउज गरेपछि मात्रै सेसन सेटअप सुरु हुन्छ भने कुनैमा डेटा अन गर्नेबित्तिकै आफैं सेसन सुरु हुन्छ । एनटीसीमा १ सय किलोबाइट बराबर ९ पैसा लाग्छ । जस्तो कलमा १० सेकेन्डलाई एक पल्सका रूपमा लिइन्छ । सुरुमा डेटा खोल्दा मात्रै पनि सेसन सेटअप हुँदा सय किलोबाइटभन्दा कम वा एक किलोबाइट नै किन प्रयोग नहोस्, त्यति नै पैसा काटिने हुन्छ ।

इन्टरनेट चलाउँदा ब्याक ग्राउन्ड डेटा अन गरिएको छ कि छैन, राम्रोसँग ख्याल गर्नुपर्छ । हरेक स्मार्ट मोबाइलको डाटा अन गर्दा ब्याक ग्राउन्ड डेटा अफ गरेको खण्डमा बिनासित्तिमा पैसा काटिँदैन ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement