कोरोनाले जीडीपीमा १३ प्रतिशतभन्दा बढिको क्षति हुने अनुमान, एसियामै सबैभन्दा धेरै नेपालको

Advertisement

काठमाडौं । कोरोना भाइरसका कारण एसियाली मुलुकहरूमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । कोरोनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपियाँ) बराबरको आर्थिक क्षति हुने अनुमान एडीबीको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रहँदा यो स्तरको क्षति हुनेछ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा नेपालमा हुने आर्थिक क्षति एसियाली मुलुकमध्ये सबैभन्दा बढी हो ।

अन्य दक्षिण एसियाली मुलुकहरू भारतमा जिडिपीको ६ प्रतिशत, बंगलादेशमा ६ दशमलव ६ प्रतिशत, पाकिस्तानमा ५ दशमलव १ प्रतिशत र श्रीलंकामा ६ प्रतिशतसम्म कोरोनाका कारण क्षति हुने अनुमान एडीबीको छ ।

एसियाली मुलुकमध्ये नेपालपछि सबैभन्दा गम्भीर आर्थिक क्षति दक्षिण कोरियामा ११ दशमलव ७ प्रतिशत र चीनमा ११ दशमलव २ प्रतिशत हुने अनुमान एडीबीको छ । तर, कोरोनाको रोकथाम ३ महिनामै भयो र सरकारहरूले ठोस नीतिगत पहल गरे क्षति कम हुनसक्ने पनि एडीबीको अनुमान छ ।

कोरोना सुरु भएको तीन महिनाभित्रै रोकथाम भएको अवस्थामा नेपालमा क्षति जिडिपीको ७ दशमलव ९ प्रतिशत अर्थात् २ खर्ब ५४ अर्ब रुपियाँ हुने अनुमान एडीबीको छ । तर, नेपालमा कोरोनाको तीव्र विस्तार हालै मात्रै भएको र लकडाउनकै अवधि तेस्रो महिना सुरु हुन लागेकाले तीन महिनामा प्रभाव रोकथामको सम्भावना छैन ।

चैतमा सुरु भएको लकडाउनपछि नेपालमा कोरोनाको असर सुरु भएको मान्दा यसको असर अर्को आर्थिक वर्षसम्म पनि जारी हुनेछ । त्यसो हुँदा त्यसको सम्पूर्ण असर यही आर्थिक वर्षको आर्थिक वृद्धिमा प्रतिबिम्बित हुने भने छैन, आगामी आर्थिक वर्षमा पनि यसको प्रभाव देखिनेछ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement