काठमाडौँसहित ६ जिल्लामा देखिए ३२ सङ्क्रमित, कूल ५४८ पुगे

Advertisement

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज ३२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा सङ्क्रमण देखिएको बताए ।

उनका अनुसार नयाँ सङ्क्रमितमा कपिलवस्तु जिल्लाका आठ, सर्लाहीका १३, बारा एक, काठमाडौँ एक, रुपेन्देही आठ र चितवनका एक जना छन् । कपिलवस्तु वाणगङ्गा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला रहेका छन् ।

सर्लाही गोडैताकविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षीय पुरुष, बारा करैयामाई गाउँपालिकाकी ३७ वर्षीय महिला रहेका छन् । यसैगरी नयाँ सङ्क्रमितमा काठमाडौँका ३५ वर्षीय पुरुष तथा रुपेन्देही गैडहवा र रोहणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष र चितवन भरतपुर महागरपालिका वडा नं ६ का ५२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको उनले जानकारी दिए ।

आज भेटिएका नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या ५४८ पुगेको छ । हिजो शुक्रबार मात्रै ५९ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ७० जना पूर्णरूपमा सञ्चो भइ घर फर्किसकेका र ३ जनाको मृत्यु भएको छ । उनका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement