'लकडाउन' लम्बिँदै गए आर्थिक वृद्धिदर ऋणात्मक, अर्थमन्त्रीको बोली एकातिर व्यवहार अर्कोतिर

काठमाडौँ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन लम्बिँदै गए आर्थिक वृद्धिदर ऋणात्मक हुने जोखिम बढेको छ । केन्द्रीय तथ्यांक विभागले गत वैशाख १७ मा कोभिड–१९ को असरले २.२७ प्रतिशतको न्यून आर्थिक वृद्धि अनुमान गरेको थियो । अर्थतन्त्रलाई त्राण दिन सरकारले विभिन्न नीति लिए पनि लकडाउन भइरहँदा आर्थिक वृद्धिको अनुमानमा झट्का लाग्ने भएको हो ।

जेठदेखि आर्थिक गतिविधि चलायमान हुने अनुमान गर्दै यस वर्ष आधारभूत मूल्यमा २.२७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण विभागको थियो । अब ‘माइनस (ऋणात्मक)को बोर्डर लाइन’ मा पुगेको विभागका अधिकारीहरू बताउँछन् । ‘हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान र होटल तथा रेस्टुरेन्ट क्षेत्रबाहेकका आर्थिक गतिविधि जेठदेखि पुनः सञ्चालन हुन्छन् भन्ने अनुमान गरेका थियौं,’ विभागका महानिर्देशक नेविलाल श्रेष्ठले भने, ‘लकडाउन लम्बिएपछि सबै आर्थिक गतिविधि ठप्पप्रायस् भएको छ । अब २.२७ प्रतिशतको वृद्धिदर हुने छैन ।’

महानिर्देशक श्रेष्ठले अहिले आर्थिक वृद्धिको रकम वा प्रतिशत किटान गरेर भन्न नसकिने बताए । ‘तर अब आर्थिक वृद्धि माइनस हुने बोर्डर लाइनमा पुग्ने निश्चित छ । माइनस वा प्लस जे भए पनि थोरै प्रतिशतले मात्रै हुनेछ ।’ यो अवस्था बुझेर नै हुन सक्छ, अर्थमन्त्री युवराज खतिवडाले भाषणमा ‘रोगभन्दा पनि भोकसँग लड्न न्यूनतम आर्थिक क्रियाकलाप अघि बढाऔं,’ भन्न छुटाउँदैनन् ।

लकडाउन लम्बिँदै गएपछि अर्थमन्त्री र आर्थिक क्षेत्रसम्बद्ध सरकारी अधिकारीहरूले पनि पछिल्लो समय ‘न्यूनतम आर्थिक गतिविधि जारी राख्नुपर्ने’ मा जोड दिइरहेका छन् । यसको उद्देश्य आर्थिक गतिविधि चलायमान गराएर न्यून आय हुनेहरूलाई भोकै रहनबाट जोगाउनु मात्रै होइन, आर्थिक वृद्धिसँग पनि सम्बद्ध छ ।

मुलुकको जीडीपीमा करिब २१ प्रतिशत हिस्सा ओगटेका ५ क्षेत्रको वृद्धि ऋणात्मकमा जाने विभागको अनुमान थियो । जीडीपीको मापनमा प्रयोग भएका १५ क्षेत्रमध्ये निर्माण, यातायात र सञ्चार, उद्योग, होटल तथा रेस्टुरेन्ट र खानी तथा उत्खनन क्षेत्रको वृद्धि ऋणात्मक हुने भनिएको थियो । यी सबै क्षेत्रले यस वर्ष जीडीपीमा २०.७० प्रतिशत हिस्सा ओगट्ने छन् । ‘अब अन्य क्षेत्रको पनि वृद्धिदर ऋणात्मक हुने जोखिम बढेको छ,’ विभागका महानिर्देशक श्रेष्ठले भने ।

ऋणात्मक भन्नाले गत आर्थिक वर्ष भएको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)भन्दा यस वर्ष कमी हुनु हो । गत वर्ष कुल गार्हस्थ्य उत्पादन वर्तमान मूल्यमा ३४ खर्ब ५८ अर्ब ७९ करोड रुपियाँ रहेको संशोधित अनुमान छ । यसमा ३ खर्ब ८ अर्ब २५ करोड रुपियाँले बढेर चालु वर्षमा अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब ४ करोड रुपियाँ पुग्ने विभागको अनुमान थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले वैशाख अन्तिम साता नै नेपालको आर्थिक वृद्धि १ प्रतिशतभन्दा बढी नहुने जनाइसकेको छ ।

कान्तिपुर दैनिकबाट ।