कच्चा पदार्थको अभावले छट्पटाउँदै सिमेन्ट उद्योगहरु

Advertisement

भैरहवा । ढुवानीमा जिल्ला जिल्लाबीच समन्वय नहुँदा सिमेन्ट उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा, क्लिङ्करजस्ता पदार्थको अभाव भएको उद्योगीले बताएका छन् । विशेष गरी ढुवानी अवरोधका कारण उद्योगलाई चाहिने चुनढुङ्गा र क्लिङ्कर उद्योगसम्म पुग्न सकेको छैन ।
केही दिनअघि सरकारले सिमेन्ट उद्योगलाई अत्यावश्यक उद्योगको सूचीमा राख्दै सञ्चालन गर्न अनुमति दिए पनि कोरोनाको बढ्दो सङ्क्रमणको त्रास र बन्दाबन्दीमा कच्चा पदार्थ ढुवानीमा समस्या आएको हो ।

यो समय उद्योग नियमित सञ्चालन मात्र नभई आगामी असोजसम्मका लागि आवश्यक कच्चा पदार्थ सङ्कलन गर्ने समय भएको सिमेन्ट उद्योगहरूको छाता सङ्गठन सिमेन्ट उत्पादक सङ्घ रुपन्देहीका अध्यक्ष ऋषिकेश अग्रवालले बताए । पूर्णतया कच्चा पदार्थ, मजदुर र ढुवानीमा निर्भर सिमेन्ट उद्योग लामो समयको बन्दले आगामी दिनमा झनै समस्यामा पर्ने उनले बताए । “बन्दाबन्दी खुलेपछि भारतबाट कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था आएको छ, यसबाट लागत वृद्धिसँगै सिमेन्टको मूल्यवृद्धि हुने देखिन्छ,” अग्रवालले भने ।

क्लिङ्कर र सिमेन्ट दुवै उत्पादन गर्ने अर्घाखाँची सिमेन्ट उद्योग प्रालिका सञ्चालक राजेश अग्रवालले बन्दाबन्दीकै दौरान सरकारले उद्योग सञ्चालन गर्न सूचित गरे पनि जिल्ला जिल्लाका स्थानीय तह र प्रहरी प्रशासनबीच आपसी तालमेल नहुँदा ढुवानी हुन नसकेको बताए । उनका अनुसार अर्घाखाँची सिमेन्टले वार्षिक आठ लाख टन क्लिङ्कर उत्पादन गर्दै आएको छ । हाल बन्दाबन्दीका कारण ढुवानी नहुँदा आवश्यक मासिक ७०–८० हजार टनका दरले तीन–चार महिनाको लागि क्लिङ्कर आयात गर्नुपर्ने हुन्छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement