लालीगुराँस सहकारीबाट ऋण लिएकाहरुलाई विशेष छुट सुविधा

Advertisement

ललितपुर । पुल्चोकस्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले ऋण लिएका सदस्यलाई छुट सुविधा दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी र यसलाई नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित बनेका आफ्ना सदस्यहरुलाई संस्थाले छुट सुविधा दिने निर्णय गरेको हो ।

कोरोना महामारी फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाई यस्तो सुविधा उपलब्ध गराउन लागेको हो भन्दै लालीगुराँसले असार मसान्तसम्म सो सुविधा उपलब्ध गराउने जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यवहारिकरुपमा ब्याज तिर्न सहज हुन सकोस भन्ने उद्देश्यले सुविधा दिएको बताए ।

संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशतभन्दा बढी ब्याज चुक्ता गरेमा तीन प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने भुक्तानी गर्न बाँकी हर्जना रकममा सत प्रतिशत छुट दिने घोषणा गरेको छ ।

नेपालको उत्कृष्ट सहकारीको रुपमा रहेको यस संस्थाले ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल, र न्युरोड, भक्तपुरको कौशलटार र पर्सा चितवनको खैरहनी गरी ५ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।

कर्मचारीलाई कोरोना बिमा
यसैबीच संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयसहित सबै सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ । संस्थाको चापागाउँ, चाबहिल, कौशलटार, पर्सा चितवन र न्युरोडका सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको बीमा गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिए ।

सरकारले ल्याएको कोरोना बीमा योजनामा प्रतिव्यक्ति एक लाख रुपियाँको रहेको छ । पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमितले उक्त रकमको दावी भुक्तानी पाउने छन् । संस्थाका कुल ११८ कर्मचारी रहेका छन् ।

Advertisement

Advertisement

Advertisement