ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी, प्रदेश १ लाई तिब्बतले दियो सात करोडको सामग्री

Advertisement

काठमाडौँ । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले सङ्क्रमित सङ्ख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए ।

उहाँले सङ्क्रमितको सङ्ख्या सोचेकोभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताए । हिजोसम्म एक हजार ५६७ जना सङ्क्रमित देखिएका थिए । उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इपिडिमियोलाजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ ।

“सङ्क्रमितको सङ्ख्या हाम्रो हातमा रहेको छैन । केही दिनको तथ्याङ्क हेर्दा यो सङ्ख्या बढ्छ”, उनले भने, “त्यसैले पटकपटक किन्नुभन्दा पनि एकैपटक तीन महिनालाई पुग्ने ठूलो मात्रामा औषधि किन्ने तयारीमा छौँ ।”

उनका अनुसार पहिले एक हजार ५०० सङ्क्रमित हुने अनुमान गरेका थियौं । केही दिनअघि मात्र पाँच हजारको सङ्ख्यामा सङ्क्रमित हुने अनुमान गरिएको छ । दैनिक १५० जनाभन्दामाथि सङ्क्रमित देखिन थालेको र विदेशमा रहेका अलपत्रलाई नेपाल ल्याउने सरकारको निर्णयसँगै सङ्क्रमितको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अहिले महाशाखासँग एक लाख ७० हजार व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), १४ लाख मास्क, एक लाख ८० हजार एन ९५ मास्क, २८ हजार भिटिएम र ४० हजार आरडिटी मौज्दात रहेको उनले बताए ।

तिब्बतबाट रु सात करोडको स्वास्थ्य सामग्री प्राप्त
यता, कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं। १ सरकारलाई रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल चीन कार्यकारी परिषद् प्रदेश नं १ का संयोजक मुकेश उपाध्यायले आज आयोजित एक समारोहबीच मुख्यमन्त्री शेरधन राईलाई उक्त सामग्री हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि उच्च सतर्कता अपनाएको उल्लेख गर्दै सरकारले गरेको उच्च प्रयासका कारण नै कोरोनाको उपचार एवं रोकथाममा सफलता प्राप्त गरेको बताए ।

तिब्बत सरकारबाट प्राप्त सहयोगले हाम्रो मनोबल उच्च भएको छ बताउँदै उनले सरकारले यस प्रदेशमा पिसिआर पद्धतिबाट ५० हजार मानिसको परीक्षण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले तिब्बत सरकारबाट प्राप्त भएको सहयोग सामग्रीको उपयुक्त र प्रभावकारी ढङ्गले प्रयोग गर्ने बताउँदै कोरोनाको उपचारका लागि सरकार हरतरहको प्रयास जारी राखेको छ भने ।

परिषद्का संयोजक मुकेश उपाध्यायले तिब्बत सरकारले नेपालमा कृषि, पर्यटन र व्यापार व्यवसायलाई फस्टाउन सहयोग गर्ने भन्दै तिब्बतबाट प्राप्त सहयोग सामग्रीको सही सदुपयोग भएमा आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement