विद्युतीय व्यवसायी भन्छन्– 'लकडाउन' लम्ब्याउँदा रोगले होइन् भोकले मर्न लागियो

Advertisement

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले लकडाउनको समयसीमा र मोडालिटीबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति प्रकाशित गरी विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संक्रमण रोक्न गत चैत्र ११ गतेदेखि लागू गरिएको लकडाउन (बन्दाबन्दी)ले व्यवसायी रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएको भन्दै यसलाई नलम्ब्याउन आग्रह गरेको हो ।

समस्याको निदान गर्ने लकडाउन मात्रै अन्तिम बिकल्प होइन भन्ने कुरा विश्वव्यापी अभ्यास समेतले स्पष्ट पारेको छ भन्दै संघले कोरोना भाइरस संक्रमण नियन्त्रणको कुनै निश्चत समय किटान गर्न गाह्रो भएको र यसको रोकथामको लागि विश्व नै लागिरहेको अवस्थामा यसको मोडालिटी परिर्वत गर्दै अत्यन्तै संवेदनशील क्षेत्रबाहेक अन्य क्षेत्रमा खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउँदै जानुपर्दछ भनेको छ ।

स्वास्थ्य सुरक्षालाई मजवुद बनाउँदै, परीक्षणको दायरालाई फराकिलो बनाउन संघले आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक जनजीवन सामान्य बनाउनेतिर नलागेर नेपाल सरकारले लकडाउन मात्र थपेर समय खेर फालिरहेको आभास हामी विद्युतीय व्यवसायीलाई हुन थालेको छ ।’

विद्युतीय व्यवसायी संघले निर्माण सामग्रीअन्तर्गत पर्ने विद्युतीय सामग्रीहरुको प्रयोग मानव जीवनको दैनिकीको लागि अति आवश्यक बस्तु भएकाले यसको नियमितरुपमा मर्मत संभार गर्नुपर्ने, नयाँ जडान गर्नुपर्ने अथवा बदल्नुपर्ने हुन्छ भन्दै यसका लागि आवश्यक विद्युतीय सामग्रीको उपलब्ध नभएर उपभोक्ताहरु मारमा परेको बताएको छ ।

सरकारको निर्णय अनुसार विद्युतीय सामग्रीहरु उत्पादन गर्ने उद्योगहरुबाट न्यून क्षमतामा उत्पादन गरिएता पनि बजार, पसलहरु नखुलेकाले उत्पादित सामग्री उपभोक्ता समक्ष पुर्याउन नसकिएकाले, उद्योगहरुले पूँजी परिचालनको अभावले कच्चा पदार्थ खरिद गर्न नसक्ने अवस्था हुन सक्ने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सूचना अनुसारका स्वास्थ्य सुरक्षाको उच्च मापदण्ड पालना गरी र सामाजिक दूरीका साथ आवश्यक विद्युतीय सामग्रीहरु उत्पादन गर्ने उद्योगहरु, विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय (आपूर्ति एवं बिक्री वितरण) संचालन गर्न पाउने व्यवस्था गर्नुपर्ने संघको माग छ ।

जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आंकलन र मजदूर, साना एवं मझौला व्यवसायीलगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म गर्न नसक्ने अवस्थामा पुगेको यथार्थतालाई बिश्लेषण गरी विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय संचालनमा सहजता ल्याउन र थप गरिएको लकडाउनको मोडालिटीमा गम्भीर पुन र्विचार गर्न आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement