विद्युतीय गाडीको कर घटाउने संकेत, बहस गरौं न– अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधनको कर घटाउने संकेत गरेका छन् । उनले पेट्रोलियमका सवारी साधनको भन्दा विद्युतिय सवारी साधनको कर कम हुनुपर्नेमा सरकार स्पष्ट रहेको पनि स्पष्ट पारे ।

विनियोजन विधेयकमाथीको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री डा. खतिवडाले तर कति कम हुनुपर्ने हो भन्नेबारे चाँही संसदमै छलफल हुनुपर्नेमा जोड दिए । ‘विद्युतिय सवारी साधनका करहरु पेट्रोलियमका सवारी साधनहरुको तुलनामा कम हुनुपर्छ । तर कति कम हुनुपर्छ भन्ने कुरामा छलफल गरौं । कम हुनुपर्छ भनेर १० प्रतिशत मात्रै हुनुपर्छ वा दक्षिण एसियाली देशहरुको हाराहारीमा हुनुपर्छ भन्ने कुरामा बहस गरौं ।’, मन्त्री खतिवडाले संसदमा भने ।

उनले सार्कका सबै ठूला मुलुकहरुले पनि निजी प्रयोजनका विद्युतिय सवारी साधनमा ४० देखि ६० प्रतिशतसम्म भन्सार र अन्तशुल्क तथा भ्याटसहित शतप्रतिशत भन्दा बढी असुलिरहेको बताए । ‘विद्युतिय गाडीको सवाल सैद्धान्तिक रुपमा ठिक हो । विद्युतिय सवारी साधन सरल र सहज रुपमा उपलब्ध गराउनु पर्छ, सरकारले पनि चाहेको त्यहि नै हो । तर कति सरल र कति सहज रुपमा गर्ने भन्ने कुरा मात्रै हो ।’ मन्त्री खतिवडाले भने ।

उनले नाका बन्दीका बेला सरकारले बोल्ड निर्णय गरेर निजी प्रयोजनका सवारी साधनलाई १० प्रतिशत भन्सार दर तोकिदिएको दावी पनि गरे । त्यति बेला पनि सार्वजनिक सवारी साधनका हकमा एक प्रतिशत भन्सार रहेको र अहिले पनि सोही दर कायम रहेको जानकारी पनि उनले गराए । अहिले पनि सार्वजनिक सवारी सधानका हकमा एक प्रतिशत नै भन्सार हो । निजी सवारी साधनका हकमा केहि बढाइएको छ । सार्वजनिक प्रयोजनका विद्युतिय सवारी साधनहरुका लागि अहिले पनि एक प्रतिशत मात्रै भन्सार दर रहेको उनको भनाई छ ।

सरकारले विद्युतिय सार्वजनिक सवारी साधनको उपयोगलाई बढावा दिने नीति लिएको पनि बताएका थिए । वातावण स्वच्छ राख्न र आन्तरिक रुपमा उत्पादित विद्युत खपतका लागि पनि विद्युतिय सवारी साधनको प्रवद्र्धन आवश्यक रहेको बताएका थिए ।

Advertisement

Advertisement

Advertisement