सहकारीकर्मीबीच अन्तरक्रियाः स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिएर योजना निर्माणमा जोड

Advertisement

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा कोरोना (कोभिड–१९) को असर र भावी नीति तथा कार्यक्रमको विषयमा गण्डकी प्रदेश अन्तरगतका सहकारीहरुसंगको भर्चुअल छलफल मंगलबार सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा गण्डकी प्रदेश अन्तरगत क्रियशील सहकारी संघहरुका अध्यक्षहरु र गण्डकी प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारीकर्मीहरुले सुझाव र प्रदेशको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

गण्डकी प्रदेश अन्तरगतका सहकारी संघ संस्थाहरुले स्वास्थ्य, सचेतना, कृषि, दुग्ध, तरकारी, फलफूल, सञ्चार, फोहोर व्यवस्थापन लगायत वित्तीय क्षेत्रमा सहकारीका सदस्यहरु र आम समुदायलाई सहयोग गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

सहभागीहरुले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिमा गण्डकी प्रदेशका सहकारीहरुले सहकारीका सदस्यहरु लगायत आम समुदायलाई कोरोनाको संक्रमण, यसबाट पर्न सक्ने प्रभाव र यसबाट जोगिन सकिने उपायका बारेमा सचेतना प्रदान गरेको, विपदको समयमा पनि सदस्यहरुलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री अभाव हुन नदिन समन्वयकारी भूमिका निर्वाह गरेको, आइसोलेन, क्वारेन्टिन निर्माण गरी जिल्ला स्तरीय विपद व्यवस्पान समितिसंग सहकार्य गरेको, केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेको विपद व्यवस्थापन कोषमा आर्थिक लगायत स्वास्थ्य सामग्री सहयोग लगायतका काम गरेको बताएका थिए ।

सदस्यहरुको कोरोना बिमा गर्ने, लकडाउन अवधीको ब्याजमा छुट, हर्जाना छुट लगायत सदस्य र समुदायका लागि सहकारीहरुले प्रभावकारी काम गरेको सहभागीहरुले बताएका थिए । कोरोनाको संक्रमण बढ्दै गएकाले थप सचेतना अभिवृद्धि गर्न, स्थानीय तहहरुसंग समन्वय गरेर स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा योजना निर्माण गरी रोजगारी सिर्जना गर्ने काममा सहकारीहरुको भूमिका बढाउनु पर्नेमा सहभागीहरुको जोड थियो ।

कोरोनाबाट पर्न सक्ने जोखिम न्यूनिकरणका लागि सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्नुका साथै सदस्यहरुको लगानीलाई थप सुरक्षित गर्दै उत्पादन, सेवा र वित्तीय कारोबारलाई अझै प्रभावकारी बनाउनु पर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आएसीय ग्लोबल बोर्ड मेम्मर ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले तीन वटै तहका सरकारहरुले ल्याएको योजनासंग सहकारी क्षेत्रलाई ऐक्यवद्ध गराउदै गरिवी निवारणमा क्षेत्रमा काम गर्न सहकारीकर्मीहरुलाई सुझाव दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु), नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष तथा संघीय सांसद मनकुमारी केसी जिसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवर, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी र नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, नेफ्स्कुनका निवर्तमान सचालक भीम गुरुङ, पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले कोरोनाका कारण उत्पन्न संकटमा सहकारीहरुले गरेको योगदान र आगामी दिनमा गर्न सकिने योजनाहरुको बारेमा सुझाव राखेका थिए ।

गण्डकी प्रदेश अन्तरगतका ११ जिल्ला मध्ये ९ जिल्लाका सहकारी संघका अध्यक्षहरुले जिल्लाको अवस्था, योजना र महासंघले गर्नु पर्ने सहयोगका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपती पौडेल, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक), जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ, जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोइराला, जिल्ला सहकारी संघ नवलपुरका वरिष्ठ उपाध्यक्ष तिलक पराजुली र बहुउद्देश्यीय सहकारी संघ पर्वतका अध्यक्ष दिपक आचार्यले जिल्लाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मुस्ताङ र मनाङमा जिल्ला तथा विषयगत सहकारी संघहरु दर्ता भएका छैनन् । दुवै जिल्लामा जिल्ला सहकारी संघ निर्माणका लागि छलफल भैरहेको गण्डकी प्रदेश सहकारी संघ निर्माणका लागि गठित कार्यदलका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement