कीर्तिपुर नगरपालिकाले लिंदै आएका कर आगामी आर्थिक वर्षमा नबढाउने

Advertisement

किर्तिपुर । कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ ।

परामर्श समितिको यही असार २ गते बसेको आकस्मिक बैठकले आगामी आव २०७७/७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको परामर्श समितिका संयोजक उपप्रमुख सरस्वती रिजालले जानकारी दिइन् ।

उनका अनुसार समितिको प्रतिवेदन असार २ गते नै नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको हो । प्रमुखलाई प्रतिवेदन बुझाइए पनि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छैन । मङ्गलबार बस्ने कार्यपालिकाको बैठकले आर्थिक विधेयक २०७७ मा करका दरलाई चालु आवमा नबढ्ने गरी आर्थिक विधेयक स्वीकृत गर्न नगरसभालाई सिफारिस गरेको छ । नगरसभा बैठक असार १० गते हुने जनाइएको छ ।

आव २०७६/७७ मा रु १२ करोड राजश्व उठाउने अनुमान गरिएकामा जेठ मसान्तसम्म रु आठ करोड ४५ लाख मात्र राजश्व संकलन भएको उपप्रमुख रिजालले जानकारी दिइन् । “अनुमान गरे जति कर नउठेपछि हामीले आगामी वर्ष कर नबढाउने तर करको दायरालाई विस्तार गर्दै लैजाने तयारी गरेका हौँ”, उनले भने ।

Advertisement

Advertisement

Advertisement