यो देशलाई क्युवा जस्तो बनाउने वा प्यालेस्टाइन, अब १० बर्ष मात्रै बाँकी छ

Advertisement

हामीले नेपालको विकासलाई अब सुत्रबद्ध गर्ने कुरालाई ध्यान दिनुपर्ने बेला आएको छ ।
१) अमेरिकी गृहयुद्धमा लाखौं मानिस मरे। अर्थतन्त्र ध्वस्त भयो। जब युद्ध समाप्त भयो, उनीहरुले उत्पादनको अभियान चलाए । छोटो समयमा अमेरिका कटन उत्पादन त निकासी गर्ने एक नम्बर देश भयो। सम्पूर्ण युरोपमा अमेरिकाको बजार स्थापित भयो । कृषि उत्पादन नै अमेरिकी अर्थतन्त्रको आधार बन्यो । एक समय भारतको कटन बजारले विश्वको ८५ प्रतिशत माग पूरा गर्थ्यो । जब अमेरिकी कटन उत्पादनले बजार समात्यो, भारतीय कटन १५ प्रतिशतमा झर्यो। शशी थरुरको किताब हेर्नुहोस् । एकातिर कृषिले अमेरिका बनायो अर्कातिर उपनिवेशले भारत सिध्यायो। हाम्र केही मन्त्री सधैं विदेशी लगानीको कुरा गर्छन् । अर्काको धनले धनी भइन्न।

२) चीनको विदेशीले हुर्मत काढेका थिए । आफिम खुवाएर नागरिक समाप्त । ॠण दिएर सरकार ध्वस्त । घुस दिएर कर्मचारी जति विदेशी एजेन्ट। १९११ मा माओले पेकिङ विश्वविद्यालयमा पढिरहेका चाओ एन्लाइलाई भने, ‘रास्ट्रपति को राम्रो को नराम्रो र कस्लाई हटाउने र कस्लाई राख्ने’ कुरा अहिले चीनको समस्या समाधान गर्ने उपाय होइन् । उनले भने, ‘जब देश विदेशीले खोक्रो पारेका हुन्छ्न, मानिस निराशाको रोगबाट ग्रस्त हुन्छ्न् । तेसैले अब चीनलाई बदल्नुपर्छ। गाउँका किसानलाई जगाउनुपर्छ। किसानलाई देश बनाउने तपाईंहरुले नै हो भनेर बताउनुपर्छ।’

३. जब चीनमा क्रान्ति सम्पन्न भयो, देश लथालिङ्ग थियो । उत्पादन थिएन। बाल मृत्यु, सुत्केरी मृत्यु, रोग ब्याधी, गरिबी र अराजकताले चीन ग्रस्त थियो । चाओलाई माओले भने, ‘समाजको रोग निको पारेपछि मानिसको दिमाग स्वस्थ हुन्छ। अत समाजको सुधार र उत्पादनको अभियान साथसाथै लैजानुपर्छ।’ गाउँमा कृषि पाठशाला र कृषि उत्पादन सँगै अभियानका रुपमा अघि बढ्यो । किसानहरुलाई तालिम दिइयो। कृषिमा आमूल परिबर्तन भयो।

४) कोरियाले औद्योगिकरणमा जानू पहिला कृषिलाई आधुनिकीकरण गर्यो । क्युवाले संसारलाई पुग्ने चिनी उत्पादन गर्यो। रसियालाई चिनी दिएर तेल किन्यो। संसारबाट स्वयंसेवक बोलाएर कृषि उत्पादन बढायो।

५) जुन देशले कृषि उत्पादनलाई नजरान्दाज गर्छ, त्यो कहिले पनि माथि जाँदैन । नेपालको हालत अहिले कमजोर छ।

हामीले देश बनाउने समय बर्बाद गर्यौं । हामीले हाम्रो २०० बर्ष लामो अपमानित इतिहासलाई बदलेर स्वाभिमानको निर्माण गर्ने कुरालाई बेवास्ता गर्दै आयौं। हामीलाइ आधा नेपाली हुँदा गौरव भयो । हामीले हाम्रो इतिहासको निर्माण गर्ने मानिसको अपमान गर्यौं । आज पनि इतिहास कलंकित छ । अब देश बनाउने सोचको निर्माण हुनुपर्छ। हाम्रा हातहरु सिर्जना गर्छन, हातलाई दिमागले चलाउनुपर्छ। त्यसैले नयाँ सोचको विकास गरौं ।

क) हाम्रो इतिहासको पुनर्निर्माण गरौं । राजा एल्म्बरबाट नेपालको पहिचान बन्यो । उनको सम्मान हुनुपर्छ। राजा अंसुबर्माले मौखरीहरुलाई हराए र नेपालको नयाँ इतिहास निर्माण गरे । राजा नरेन्द्रदेवले मगघ र चीनसँग सम्बन्ध गाँसेर नेपालबाट रेशममार्ग चलाए । उनको पनि सम्मान हुनुपर्छ। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे उनको पनि सम्मान हुनुपर्छ । बंशु गुरुङले किन्लोकलाई हराएर नेपालमा बृटिशलाई पस्न दिएनन् । उनको पनि सम्मान हुनुपर्छ। पश्चिमको किल्लामा उपनिवेशकाविरुद्ध लड्ने भक्ति थापा, अमर सिंह थापा, बलभद्र कुवंर, रन्जोर सिंह थापा लगायतका सबै सहिदहरुको इतिहास लेखिनु पर्छ ।

ख) देशको सम्मान र समाजको परिवर्तनका लागि गीत गाउने कविता लेख्ने रामेस, मन्जुल, गोकुल जोशी, हरिभक्त रिमाल, बुंद राना, युद्धप्रसाद मिश्र थुप्रै आहिलेसम्म बेवास्ता गरिएका सबै प्रतिभा र स्रस्टाको इतिहास इज्जत र सम्मान हुनुपर्छ।

ग) आफनो क्षेत्रमा नेतृत्व गर्ने जस्तै वकिलका कृष्णप्रसाद भण्डारी र शम्भुप्रसाद ज्ञवाली डाक्टरका मथुरा श्रेष्ठ जस्ता सबै क्षेत्रका मुर्धन्यहरुको सम्मान हुनुपर्छ । तर तेसो गर्न पहिला तेस्तो समाजको निर्माण गर्ने विचारको खेती गर्नुपर्छ। विचारको तागत हजारौं सैनिकको भन्दा शक्तिशाली हुन्छ ।

घ) अब हरेक नेपालीले कृषिको आन्दोलन निर्माण गर्नुपर्छ । एमसीसीका कुरा गर्ने, बिदेशी लगानीका गफ गर्ने गफाडीहरुलाई तिमी विदेशीले किनेका मानिस हौ भन्ने बेला आयो । पाँच बर्षमा चाहिने सबै किसिमका खाद्यान्नमा देशलार्इ आत्मनिर्भर बनाऔं। अर्को पाँच बर्षमा कृषिमा आधारित उद्योगहरुको निर्माण गरौं । तब मात्र बिदेशी लगानी आउला । बिदेशी लगानी आउनु पूर्व देश लुट्ने, कमिसनतन्त्र चलाउने र नेपालीका नाममा नेपाल लुटने माफिया र तिनका मालिकहरुलाइ फ्याँक्न सक्नुपर्छ ।

ङ) राष्ट्रियता विनाको विकास शोषण र दलालीको स्वरुप हो । अमेरिकाले ‘पहिला अमेरिका’ भन्दा हुने हामीले किन मेरो राष्ट्रभन्दा दूतावासका भात खानेहरुले उग्रराष्ट्रवादी भन्ने । हो हामीले राष्ट्रवादी हुनैपर्छ। तर राष्ट्रवादी भनेको राजावादी होइन। राजा होइन । राष्ट्रवादीले जनता बोक्छ । असल राजाको पनि सम्मान त हुन्छ ।

च) अब सेनाको संख्या दुई लाख ५० हजार पुर्याउनुपर्छ। सैनिक ब्यारेकहरुलाई उत्पादनका केन्द्र पनि बनाउनुपर्छ। सेनाभित्र उत्पादन ब्रिगेडको निर्माण हुनु पर्छ । लड्ने र उत्पादन गर्ने दुबै थरीको नेतृत्व सेनाले २० बर्षसम्म गर्नुपर्छ।

छ) विश्वविद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवामा प्रयोग गरि शिक्षालाई व्यवसायीकरण र रोजगारी दुबैसँग जोडनु पर्छ।

ज) निर्माणका लागि राष्ट्रिय निर्माण प्राधिकरणको निर्माण गर्नुपर्छ ।

अहिले देशका समस्या भनेका टपरटुईंया गफाडी हुन, जस्का डिग्री छ्न तर ज्ञान र बिज्ञान होइन अल्प ज्ञानको रोग मात्र छ । यिनैले राज्य पनि समातेका छ्न, यिनकै हातमा राजनीति पनि छ । यस समूहमा आँफूलाई इमान्दार देखाउने गफाडी र राज्य दुहुने छ्ट्टु पनि छ्न् । अब अरुलाई होइन आफैंलाइ चिनौं। अब हामीसँग १० बर्षको समयमात्र छ । अहिले नै सोच्न नथाल्ने हो भने देश रहने छैन। देशलाई क्युवा जस्तो बनाउने वा प्यालेस्टाइन जस्तो ?

Advertisement

Advertisement

Advertisement