काठमाडौंका तीन नयाँ शहरमा बाणिज्य बैंकहरुले चार खर्ब लगानी गर्ने

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा निर्माण हुने नयाँ शहरहरुमा बाणिज्य बैंकहरुले लगानी गर्ने भएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंको कागेश्वरी मनहरा क्षेत्र, टोखा क्षेत्र र भक्तपुरको गुण्डु क्षेत्रमा नयाँ शहर निर्माणका लागि डीपीआर तयार गरेर मन्त्रीपरिषदमा पठाएको छ । तीन वटा नयाँ शहर निर्माणका लागि करिब ४ खर्ब रुपैयाँ आवश्यक पर्नेछ । ल्याण्ड पुलिङ बिधीबाट निर्माण गरिने शहरहरुमा बाणिज्य बैंकहरुले ऋण लगानी गर्न लागेका हुन् ।

‘सरकार जमानी बस्ने हो भने नयाँ शहर निर्माणको परियोजनामा ऋण लगानी गर्न सक्छौं भनेर सहमति पत्र पठाएका छौं’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले कर्पाेरेट नेपालसँग भने । सानिमाले पहिलो वर्षमै ४ अर्ब लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि उनले बताए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले बिभिन्न बैंकहरुका तर्फबाट ५० अर्ब भन्दा धेरै ऋण लगानीको प्रतिवद्धता आइसकेको बताए । आधा दर्जन बैंकहरुले लगानीका लागि लिखित प्रतिवद्धता व्यक्त गरेको उनले जानकारी दिए । प्राधिकरणले कागेश्वरी मनोहरा क्षेत्रमा एक लाख रोपनी र टोखा तथा गुण्डु क्षेत्रमा १०।१० हजार रोपनीको नयाँ शहर बनाउन लागेको छ ।

तिवारीका अनुसार कुमारी बैंकले एउटा सिंँगै प्रोजेक्टमा ऋण लगानी गर्ने प्रतिवद्धता जनाएको छ । पहिलो वर्ष ३ अर्ब लगानी गर्ने भनेको बैंकले आवश्यक थप रकम पनि जुटाउने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै, नेपाल बैंकले पाँच वर्षमा १५ अर्ब लगानी गरिदिने प्रतिवद्धता जनाएको छ ।

नयाँ शहर विकास आयोजनाले बैंकहरुसँग ऋण लिने र आयोजनाबाट हुने आम्दानीबाट साँवा तथा व्याज तिर्ने मोडल तय गरिएको पनि विकास आयुक्त तिवारीले जानकारी दिए । एक लाख रोपनीको नयाँ शहर ६ वर्ष र साना शहर ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । त्यसका लागि आवश्यक पर्ने करिब ४ खर्ब रुपैयाँमध्ये प्रारम्भिक चरणमा आवश्यक पर्ने रकम भने बाणिज्य बैंकहरुबाट ऋण लिने योजना अघि बढाइएको हो ।

Advertisement

Advertisement

Advertisement