अन्योलमा परेको पूर्वाधार कम्पनी सञ्चालनमा ल्याउने सरकारी प्रयास

Advertisement

काठमाडौँ । मुलुकको पूर्वाधार निर्माणलाई सहज बनाउन आफ्नै निर्माण कम्पनी सञ्चालनमा ल्याउने दुुई वर्ष अघिको सरकारी घोषणा कार्यान्वयनमा आउन थालेको छ । गत जेठमा सरकारले कम्पनी कार्यकारी अधिकृत नियुक्ति गरेसँगै यसलाई क्रियाशील बनाउने कार्यको सुरुवात भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहने गरी गत वर्ष साउनमा नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड दर्ता भएको थियो । आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले आफ्नै निर्माण कम्पनी सञ्चालन गर्ने घोषणा गरेको थियो ।

कम्पनीका नवनियुक्त कार्यकारी अधिकृत देवेन्द्र केसीले कम्पनीको प्रारम्भिक काम भइरहेको बताउँदै कम्पनीको नियमावली र विनियमावली सञ्चालक समितिबाट पारित भइसकेपछि कम्पनीको कर्मचारी भर्ना र अन्य आर्थिक गतिविधि हुने बताए । आगामी आर्थिक वर्षदेखि यस कम्पनीले आफ्नो निर्धारित उद्देश्य बमोजिम काम गर्ने बताउँदै उनले सुरुमा कम्पनीले सडक विभागबाट यन्त्र भाडामा लिएर काम गर्ने जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिला वज्राचार्यले कम्पनी दर्ता र कार्यकारी अधिकृतको नियुक्ति बाहेक अरू काम हुन नसकेको जानकारी दिए  । उनले भने, “कम्पनीको कार्यालय स्थापनाका लागि मन्त्रालयमा ठाउँ छैन, भाडामा घर लिएर कम्पनीको कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement