फाष्ट ट्राकमा मुआब्जा विवादः खोकनाबासी धान रोप्न गएपछि प्रहरी हस्तक्षेप, स्थिति तनावपूर्ण

Advertisement

काठमाडौँ । निजगढ–काठमाडौं फाष्ट ट्राक निर्माणका लागि मुआब्जामा चित्त नबुझाएका खोकनावासी धान रोप्न गएपछि प्रहरीले हस्तक्षेप गरेको छ । सरकारले अधिग्रहण गरेको जग्गामा स्थानीय धान रोप्न गएपछि प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको हो । स्थानीयहरु अधिग्रहणमा परेको आफ्नो जग्गामा रोपाईं गर्न खुडोल फाँटमा गएपछि रोक्ने क्रममा चार प्रहरी घाइते पनि भएका छन् । स्थिति तनावपूर्ण भएपछि नियन्त्रणका लागि प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

स्थानीयको उल्लेख्य उपस्थितिपछि प्रहरी पछि हटेको थियो । त्यसपछि स्थानीयले धान रोपेरै छाडेका थिए । फास्ट ट्रयाकको ‘जिरो किलोमिटर’ रहेको यस स्थानमा सरकारले दिएको मुआब्जा थोरै भएको भन्दै स्थानीयले लिन मानेका छैनन् । उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट मुआब्जा निर्धारण गरिएको भन्दै मुआब्जा लिन नमानेका हुन ।

उनीहरुले आफूहरुको पूरानो र मौलिक बस्ती बिनाश गर्न उपयुक्त नभएको भन्दै फाष्ट ट्राकको रुट फरक गर्न पनि आग्रह गर्दै आएका छन् । मुआब्जा बिबादलाई लिएर यसअघि पनि स्थानीय र प्रहरीबीच झडप हुँदै आएका छन् । विकासका नाममा पुर्ख्यौली थातथलो कब्जा गर्न पाइन्न भन्दै उनीहरुले संयुक्तरुपमा रोपाईंका लागि खनजोत सुरु गरेका हुन् ।

रोपाइँका लागि महिलाहरुसमेत उल्लेख्यरुपमा उपस्थित थिए भने पुरुषहरु ट्याक्टरसमेत लिएर आएका थिए । उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि ढुंगामुढा सुरु भएको थियो । उक्त स्थानमा फाष्ट ट्राकसहित बाहिरी चक्रपथ र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्मणको तयारीसमेत गरिएकाले पनि ठूलो क्षेत्रफल अधिग्रहणमा पर्न लागेको हो । खोकनावासीको आन्दोलनमा स्थानीय नेवारी समुदायका संगठनहरुले पनि साथ दिएका छन् ।

Advertisement

Advertisement

Advertisement