नेकपाभित्रको विवाद उत्तेजक बन्दै, राष्ट्रपतिलाई पनि विवादमा तानेर महाभियोग लगाउने चर्चा

Advertisement

काठमाडौं । नेकपाभित्रको शक्तिसंघर्ष झन् उत्तेजक अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी ओलीले राजनीतिक मात्र होइन, संवैधानिक शक्ति प्रयोग गर्ने स्पष्ट सन्देश दिएका छन् । ओलीको सन्देशले मिलनको सम्भावना कमजोर भएको अर्को पक्षको टिप्पणी छ ।

राष्ट्रपति विद्या भण्डारीलाई भेटेलगत्तै प्रधानमन्त्री ओलीले साँझ ७ देखि सवा ८ बजेसम्म मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भएको भन्दै ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ (वचन र कर्म)बाट त्यसको सामना गर्ने सन्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता, पार्टी एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि समेत आफ्नो निरन्तरता अपरिहार्य रहेकोसमेत मन्त्रीहरूलाई ब्रिफिङ गरेका छन् । ‘अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ, त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुन्न,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भनिन्, ‘उहाँले यदि राष्ट्रियता जोगिन्छ, कम्युनिस्ट आन्दोलन जोगिन्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुन्छ भने म दुवै पद छोडेर देशलाई कमजोर हुन्न दिन्नँ भन्नुभएको छ ।’

बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन र महिला, बालबालिका, समाजकल्याणमन्त्री पार्वत गुरुङले बोलेका थिए । कृषिमन्त्री भुसालले पहिलो विश्वयुद्धका वेला एउटै पोस्टर देखाएर जर्मनी र फ्रान्सलाई उत्तेजित बनाइएजस्तै परिवेश अहिले नेकपामा देखिएको विश्लेषण सुनाएका थिए ।

‘युरोपमा पुँजीपतिहरूले त्यतिवेला पोस्टर छापेर वितरण गर्थे । त्यसमा लेखिएको हुन्थ्यो– हत्यारा हुन्, तिनीविरुद्ध उठ, जाग अब रक्तपातका लागि तयार होऊ । तर, त्यो को हो भन्ने ठाउँ खाली राखिएको हुन्थ्यो । जर्मनहरूले खाली ठाउँमा ‘फ्रेन्च’ भर्थे, फ्रेन्च हत्यारा हुन्, तिनीविरुद्ध उठ भन्ने सन्देशसहित पोस्टर वितरण गर्थे । उता फ्रेन्चहरूले त्यही खाली ठाउँमा ‘जर्मन’ थपेर जर्मनहरू हत्यारा हुन्, तिनीहरूविरुद्ध रक्तपातका लागि तयार होऊ भनेर आह्वान गर्थे,’ कृषिमन्त्री भुसालको भनाइ थियो ।

भुसालले ओलीलाई अनुरोध गर्दै भने, ‘अहिले नेकपामा पनि खाली ठाउँ भएको पोस्टर आएका छन्, तपाईंहरूले एक–अर्काको नाम भरेर प्रचार गरिरहनुभएको छ । प्रधानमन्त्रीलाई समाप्त गर्न लागे, राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन थाले, अब अन्तिम प्रतिरोध गरौँ भनेर तपाईं लाग्नुभएको छ । कृपया दुवैतर्फबाट उन्माद नियन्त्रण गरौँ, संवादबाट समस्या समाधान गरौँ ।’

उर्जामन्त्री वर्षमान पुनले पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा कित्ता स्पष्ट गर्नुस् भनेर आह्वान नगर्न ओलीलाई आग्रह गरे । ‘तपाईं देशको प्रधानमन्त्री हो, पार्टीको पहिलो अध्यक्ष हो, तपाईंले नै लौ कित्ता क्लियर गर भनेर नभन्नुस्, पार्टीलाई एकीकृत बनाउन के गर्न सकिन्छ भनेर पहल गर्नुहोस्, संवादले निकास दिन्छ ।’

समाजकल्याणमन्त्री गुरुङले प्रधानमन्त्री र अध्यक्षका रूपमा आफूहरू ओलीको पक्षमा रहेको स्पष्ट पार्दै केन्द्रीय सचिवालय र स्थायी समिति दुवै पार्टी एकता जोगाउन अक्षम भएको टिप्पणी गरेका थिए । ‘अब जुनसुकै मूल्य चुकाएर भए पनि केन्द्रीय कमिटी बोलाउनुहोस्, हामी तयार छौँ ।’

प्रधानमन्त्रीको सन्देशले आपूmहरूलाई निराश बनाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ । ‘शुक्रबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले जे भन्नुभयो, त्यसले पनि उहाँको दृष्टिकोण, रबैया त्यति सकारात्मक देखाएन,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अहिल्यै ठ्याक्कै त्यस्तो (विभाजनलाई प्रश्रय दिएको) त म भन्दिनँ, तर त्यति सकारात्मक स्थिति नदेखिए पनि गम्भीरतापूर्वक छलफल गरेर हामी सहमतिका लागि प्रयास गर्नेछौँ ।’

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement