लगानी बोर्डको सीईओका लागि जलविद्युतका एजेन्टदेखि नेताका नातेदारहरुसम्म, को कस्ता ?

Advertisement

काठमाडौं । ठूला स्वदेशी विदेशी लगानीलाई समन्वय र सहजीकरण गर्न बनाइएको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन विवादास्पद अनुहारहरुले समेत इच्छा देखाएका छन् । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर हुन गएसँगै रिक्त रहेको बोर्डको सीईओका लागि १२ जनाले आवेदन गरेका छन् ।

बोर्डको सीईओ छनोटका लागि अर्थमन्त्री संयोजक र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल तथा आयोगका पूर्वसदस्य गोविन्द नेपाल सदस्य रहेको समिति बनाइएको छ । समितिले गएको शुक्रबार ३ बजेसम्म आवेदनको समय तोकेको थियो । पदपूर्तिका लागि गत असार ५ गते दरखास्त आह्वान गरिएको थियो ।

बोर्डको सीईओ हुन जलविद्युतका विदेशी एजेन्टदेखि नेताका नातेदारसम्मले इच्छा देखाएका छन् । जलविद्युत क्षेत्रमा बदनाम भएका सुशील भट्टले अन्तिम दिन शुक्रबार करिव पौने ३ बजे आवेदन दर्ता गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना ओगटेर बसेको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)का नेपाली एजेन्टका रुपमा परिचित भट्टले अन्तिम समयमा आएर आवेदन दर्ता गरेका हुन् । उनलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको कोटाबाट अहिले राष्ट्रिय योजना आयोगको सदस्य बनाइएको छ । उनका भाई दीपक भट्ट नेपालको ठेक्कापट्टाको सबैभन्दा ठूला डनको रुपमा चिनिन्छन् ।

प्रधानमन्त्री केपी ओली पक्षधरका नेता बिष्णु पौडेलप्रति बफादार सुशील ज्ञवालीले आवेदन दर्ता गर्नासाथै प्रचण्डप्रति बफादार सुशील भट्ट र नेता माधव नेपालप्रति बफादार कृष्ण आचार्य आवेदन दर्ता गर्न पुगेका थिए । स्रोतका अनुसार ज्ञवालीले आवेदन दर्ता नगरेको भए भट्ट र आचार्य आवेदन दर्ता गर्ने पक्षमा थिएनन् । तर, अन्तिम समयमा ज्ञवाली प्रधानमन्त्री कार्यालय पुगेर आवेदन दर्ता गर्नासाथै भट्ट र आचार्य दर्ता गर्न पुगेका थिए । आचार्य नेता सोमप्रसाद पाण्डेका ज्वाईं हुन । सोमप्रसाद पाण्डे नेकपामा माधव नेपाल पक्षधर नेता हुन् । यो हिसावले लगानी बोर्डको सीईओमा सत्तारुढ दलभित्र पछिल्लो समयमा देखिएको भाले भिडन्तको छायाँ देखिएका छ ।

भूकम्पपछिको पुनर्निर्माणमा प्रभावकारी काम गर्न नसकेको आरोप खेप्दै आएका ज्ञवाली तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले हटाए पनि ओली पुनः प्रधानमन्त्री नियुक्त भएपछि उनले पुनर्नियुक्ति पाएका थिए । प्राधिकरणले भूकम्प गएको पाँच बर्ष बितिसक्दा पनि सम्पदाहरुको पुनर्निर्माणमा खासै काम गर्न सकेको छैन् । यता कर्मचारी संचय कोषको प्रशासक भइसकेका कृष्ण आचार्य तुलनात्मकरुपमा योग्य मानिन्छन् । यद्यपि उनलाई आफ्नो योग्यता भन्दा राजनीतिक संरक्षणले माथि जान सहज भएको छ । उनी अहिले चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)का अध्यक्षसमेत छन् ।

आवेदन दिनेहरुमा डा. सरोज कोइराला यसअघि पनि लगानी बोर्डको सीईओ हुन प्रयास गर्ने व्यक्ति हुन् । सिफारिस समितिमा १ नम्बरमा रहेका उनले तालमेल मिलाउन नसकेपछि ‘कम उमेरको कच्चा व्यक्ति’ भन्दै उनलाई नियुक्ति नगरेर मन्त्रिपरिषदले महाप्रसाद अधिकारीलाई नियुक्ति गरेको स्रोतको दावी छ । कोइराला अहिले प्रदेश १ को लगानी प्राधिकरणको सीईओ हुँदाहुँदै केन्द्रको लगानी बोर्ड ताकेका हुन् । यद्यपि नियुक्ति भएको छ महिनामा प्रदेश लगानी प्राधिकरणको नियम र कार्यविधि बनाउनेदेखि ५० वटा आयोजनाको अध्ययन सुरु गरेकाले उनलाई कुनै पनि हालतमा नछोड्ने मनस्थितिमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई रहेको स्रोतले बतायो । उनी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा विद्यावारिधि गर्ने एक मात्रै व्यक्ति हुन् । नेकपानिकट कै भए पनि प्रष्टसँग नखुल्ने उनी आफूलाई नेकपाले बोर्डको सीईओ बनाउने आशामा छन् ।

त्यस्तै, बोर्डको सीईओको लाइनमा रहेका रामकृष्ण खतिवडा यसअघि बोर्डकै परामर्शदाता थिए । दुई बर्षअघि बोर्डबाट राजीनामा दिएका उनी विद्युत नियामन आयोगको सदस्य नियुक्ति भए पनि काम गर्न नसकेपछि राजीनामा दिएर हिँडेका थिए । अर्थमन्त्री युवराज खतिवडाका विश्वासपात्रको रुपमा चिनिने खतिवडालाई सीईओ बनाउन अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापासमेत सक्रिय रहेका छन् । यसअघि महाप्रसाद अधिकारीलाई पनि बोर्डको सीईओ बनाउन उनी लागिपरेका थिए । मन्त्री खतिवडा र थापाको जोडबलमा आफू सीईओ हुन सफल हुने खतिवडाको आशा छ ।

त्यसबाहेक माछापुछ्रे बैंकमा यसअघि सीईओ रहेका सुमन शर्माले पनि बोर्डको सीईओमा आँखा लगाएका छन् । सञ्चालक समितिसँग विवाद भएपछि बैंकबाट निकालिएका उनी केही समयदेखि बेरोजगार थिए । बोर्डको सीईओ भएर माछापुछ्रे बैंकका सञ्चालकहरुको सेखी झार्ने दाउमा रहेका सुमन शर्मा खेलकुदमा बढि अभिरुची राख्ने व्यक्ति हुन् ।

बोर्डमै परामर्शदाताको रूपमा काम गर्दै आएका नेकपा नेता हरिबोल गजुरेलका भतिज आषिश गजुरेलले पनि सीईओ हुने लाइनमा उभिएका छन् । बोर्डको सीईओ हुने रहर पूर्वप्रशासकहरुमा पनि देखिएको छ । पूर्वसहसचिवद्धय लक्ष्मीविलाश कोइराला र शेरजंग कार्कीले सीईओका लागि आवेदन बुझाएका छन् । त्यस्तै, नेपाल पर्यटन बार्डको सीईओ चलाएर राजनीति नियुक्तिको स्वाद चाखिसकेका दीपकराज गिरिले पनि आवेदन दिएका छन् । बोर्डमै दोहोरिने इच्छा पूरा नभएपछि उनले लगानि बोर्डमा आँखा लगाएका हुन् । जोशी जस्तै नेपाल आयल निगमदेखि विषेश आर्थिक क्षेत्र (सेज) चलाइसकेका चण्डिका भट्टलाई पनि लगानी बोर्डको सीईओ हुने इच्छा जागेको छ । जोशी र चण्डिका भट्ट दुवैको पृष्टभूमि काँग्रेस हो । यद्यपि दुवैले काँग्रेस बिना पनि यसअघि राजनीतिक नियुक्ति हात पार्न सकिएकाले यस पटक पनि ट्राई मारेका हुन् ।

बोर्डको सीईओका लागि त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउँदै आएका डा. रमेश पौडेल पनि लाइनमा देखिएका छन् । बिष्णु पौडेल अर्थमन्त्री हुँदा निकै सघाएका पौडेलले बिष्णु पौडेलले आफूलाई सीईओ बन्न सघाउने आशामा देख्निछन् । अष्ट्रेलियन नेशनल युनिभर्सिटिमा स्वर्णिम वाग्लेसँगै पढेका पौडेल सीईओका लागि राजनीतिक लबिङमा लागिसकेका छन् ।

राजनीतिक ब्याकअप र पैसा भएपछि राजनीति नियुक्ति हात पार्न कठिनाई नहुने अनुभवका आधारमा धरैले लडानी बोर्डमा आँखा लगाएको देखिन्छ भने कतिपयले भने एउटाले अर्कोलाई रोकछेक गर्न मात्रै पनि आवेदन दिएको देखिन्छ । मुलुकको राजनीतिले कुनै पनि दिन कोल्टे फेर्न सक्ने संभावनाका कारण पनि बोर्डको सीईओ पद अहिले नै कस्को हातमा जान्छ ? औंल्याउन कठिन देखिन्छ ।

Advertisement

Advertisement

Advertisement