नेकपाको आन्तरिक किचलोमा प्रवेश नगर्ने र सत्ताको अफर पनि स्वीकार नगर्ने काँग्रेसको निर्णय

Advertisement

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिले सत्तारुढ दल नेकपाभित्रको आन्तरिक किचलोमा प्रवेश नगर्ने र सरकारमा पनि नजाने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओली स्वयम र उनको प्रमुख सहयोगी सुवाश नेम्वाङले आफ्ना सभापतिलाई गोप्यरुपमा भेटेर अर्थ र गृहसहितका मन्त्रालय दिने अफर गरेका समाचार बाहिरएको सन्दर्भमा सो पार्टीले यस्तो निर्णय गरेको हो ।

बैठकमा काँग्रेसका नेताहरुले गोप्यरुपमा ओलीसँग भेटेको भन्दै देउवाको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्षी दललाई नेकपा र सरकारको विवादमा ल्याईनु गलत भएको भन्दै काँग्रेसको सोमबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने बिषय नेकपाको आन्तरिक बिषय भएको बताएका थिए । यसमा काँग्रेस सहभागी हुन नहुने उनीहरुको तर्क छ ।

केन्द्रिय समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता बिश्वप्रकाश शर्माले काँग्रेसलाई जनताले दिएको म्याण्डेट अनुसार प्रतिपक्षमै रहने बताए । अहिले कुनै पनि बाहनामा कांग्रेस सरकारमा सामेल नहुने उनको भनाई छ । शर्माले नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी ओलीसँग सभापती शेरबहादुर देउवाबिच भेटवार्ता भए पनि ती सबै सत्ता राजनीतिका लागि निरर्थक हुने बताए ।

कांग्रेसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेको भन्ने विषयमा शर्माले आफूलाई रमाइलो लागेको भन्दै व्यङ्ग्य गरे । कांग्रेसले प्रतिपक्षमा बसेर सरकारलाई आवश्यक सुझाव मात्र दिने र सरकार परिवर्तनको बिषयमा कांग्रेसलाई कुनै सरोकार नहुने उनले बताए ।

साथै, काँग्रेसले सरकार असफल भएको बताएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा असफल हुनु, सत्ता राजनीतिमा केन्द्रित हुनु, प्रधानमन्त्रीले सनकको भरमा प्रमुख प्रतिपक्षसँग परामर्श नगरी संसदको अधिवेशन अन्त्य गर्नुले नैतिकता गुमाएको कांग्रेसको ठहर छ । त्यसैगरी सरकार तथा नेकपाले राष्ट्रपतिलाई बिवादमा ल्याउने काम गरेको कांग्रेसको आरोप छ ।

Advertisement

Advertisement

Advertisement