सरकार नै भन्छ- उत्पादक र उपभोक्ताबीच ६ तह विचौलिया भेटियो

Advertisement

काठमाडौँ । खाद्यवस्तुका उत्पादकदेखि उपभोक्तासम्म अस्वाभाविक रूपमा बिचौलिया देखिएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न वस्तुको अध्ययन गरी तयार पारेको निष्कर्षमा विभिन्न तह भेटिएका हुन् । विभागको टोलीले तेल, पानी, औषधि, सिमेन्ट र स्टिलमा अध्ययन गर्दा यस्ता विभिन्न तह भटिएको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए ।

खाने तेलमा अधिकतम ४ देखि ६ तह देखिएको उनले बताए । ‘९ वटा तेल उद्योगको अध्ययन गर्दा उत्पादनस्थल, डिलर तथा डिस्ट्रिब्युटर्स, होलसेल, सेमी होलसेल, खुद्रा र उपभोक्तासहित अधिकतम ४ देखि ६ तह देखिए,’ उनले भने, ‘दुईवटा पानी उद्योगमा अध्ययन गर्दा अधिकतम् ३ देखि ५ तह, जारमा पनि त्यति नै र बोतलमा ५ तह देखिए । पानी ढुवानी गर्ने गाडीमा पनि तह देखिए ।’

बढी तह हुँदा उपभोक्ता ठगिने सम्भावना बढी हुन्छ । अध्ययनका क्रममा अस्वाभाविक तह देखिएको अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘उत्पादनबाहेक तीन तह हुनुपर्नेमा बढी देखियो । यसले उपभोक्ता मूल्य स्वतस् बढ्छ,’ उनले भने, ‘त्यसैले तहको मूल्य निर्धारण आवश्यक छ । सबै पक्षसँग छलफल गरेर अघि बढ्दा कार्यान्वयनमा सजिलो हुन्छ ।’

विभागको टोलीले ५ वटा औषधि उद्योगमा पनि अध्ययन गरेको थियो । औषधिमा पनि ५ तह देखिएको विभागले जनाएको छ । औषधिमा उत्पादक, डिस्ट्रिब्युटर्स, होलसेल, रिटेलर र उपभोक्ता छन् । सिमेन्टमा ६ तह र स्टिल उद्योगमा ४ तह देखिएका छन् । सर्जिकल सामग्रीमा १० देखि ११ तहसम्म व्यापारीको संलग्नता देखिएको विभागका महानिर्देशक नेत्र सुवेदीले जानकारी दिए । बजार मूल्य र बेथिति हटाउन तह निर्धारण आवश्यक रहेको उनले बताए ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement