बजार अनुगमनमा बरामद सुन गायव पार्ने बाणिज्यका दुई पूर्वनिर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजार अनुगमनका क्रममा बरामद भएको सुन गायव बनाएको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका दुई पूर्वनिर्देशकसहित ३ जनामाथि विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।

उनीहरुले बजार अनुगमनका क्रममा बरामद भएको सुन सुनको यथार्थ विवरण नराखी हिनामिना गरेको अख्तियारले आयर गरेको अभियोग पत्रमा उल्लेख छ । आरोपितहरुमा विभागका अनुगमन शाखाका तत्कालिन निर्देशकद्धय लक्ष्मण श्रेष्ठ, हरिनारायण बेल्वासे र नायब सुब्बा रामबहादुर थापा मगर छन् ।

श्रेष्ठ अहिले कृषि विभागमा कार्यरत छन् भने बेल्वासे राष्ट्रिय योजना आयोगमा छन् । मगर सेवानिवृत भइसकेका छन् । श्रेष्ठले २०७३ माघ ७ गते न्युरोडको नोज पिन हाउस, २०७३ चैत ३० गते पोखरामा रहेको दलबहादुर एण्ड सुनचाँदी पसल, दि युनाइटेड ज्वलेलर्स प्रालि, गोरखा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी भूम्दी सुनचाँदी पसलमा अनुगमन गरेको, त्यसक्रममा संकलन गरिएको गहनाहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट उल्लेखित पसलका गहना जफत हुने ठहर्छ भन्ने फैसला हुँदासमेत फिर्ता नगरेको अख्तियारको भनाई छ ।

‘अर्का तत्कालिन निर्देशक बेल्वासेले पनि काठमाडौंमा रहेको सूर्यबहादुर एण्ड सन्स ज्वेलर्समा अनुगमन गरी संकलन गरिएको गहनाहरुका सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदा समेत उक्त सरकारी सम्पत्ति फिर्ता नगरेको जनाएको छ । मगरले पनि श्रेष्ठसँगै न्यूरोडको विभिन्न गहना पसलमा अनुगमन र सकलन गरिएको गहना हिनामिना गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement