‘ड्रीम टु ट्राभल फेस्टिबल’ मा नेपाल पर्यटन बोर्डको सहभागिता

Advertisement

काठमाडौँ । नेपाल पर्यटन बोर्डले प्यासिफिक एशिया ट्राभल एसोशिएसन (पाटा)द्वारा आयोजित अन्तरराष्ट्रिय कार्यक्रम ‘ड्रीम टु ट्राभल फेस्टिबल’ मा सहभागिता जनाएको छ । चार हप्तासम्म चल्ने यो अनलाइन इभेन्टले विश्वव्यापी यात्रा व्यवसायलाई एउटै सञ्जालमा जोड्नुका साथै चुनौतीपूर्ण समयमा यात्राका लागि तयारी गराउनेछ ।

भिजिट नेपाल कार्यक्रमअन्तर्गत उक्त उत्सवमा बोर्डले नेपाललाई कोभिड–१९ पछिको समयमा शरीर, दिमाग र आत्माको पुनरुत्थान र स्वास्थ्यका लागि पर्यटन गन्तव्यका रूपमा प्रदर्शन गरेको छ । भिजिट नेपाल कार्यक्रम जुलाई ६–१० सम्म सञ्चालन भएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

कार्यक्रमको पहिलो दिनमा बोर्ड प्रबन्धक विमल कँडेलले नेपाल गन्तव्यका बारेमा एक प्रस्तुति दिनुभएको थियो । सोही दिन प्रत्यक्ष अनुभव सत्रमा बोर्डले मोमो बनाउने प्रत्यक्ष प्रस्तुति दियो, जहाँ एक मास्टर शेफले मःम पकाउने विधि प्रदर्शन गरियो । मःम नेपालको धेरै लोकप्रिय खानामध्ये एक हो ।

जुलाई ७ मा संस्कृति, पर्यटन र नागरिक उड्डयनका लागि मन्त्री योगेश भट्टराईले प्रत्यक्ष बिबिसी न्यूज फायरसाइडमा सहभागी भएका थिए । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपाल सरकार, बोर्ड तथा एस समूह होटेलका अन्य अधिकारीले नेपाललाई अध्यात्मिक केन्द्रका रुपमा छलफल र प्रस्तुति गरेका थिए ।

पाटा ड्रीम टु ट्राभलको नलेज सेसन मा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले आध्यात्मिक पर्यटनसम्बन्धी प्रस्तुति दिए । प्रस्तुतिले नयाँ समयमा नेपाल केबल भ्रमण गर्ने ठाउँ वा कुनै नियमित पर्यटन गन्तव्य मात्र नभएर पुर्नताजगी र आध्यात्मिक उपचार गर्ने ठाउँ पनि हो भन्ने कुरामा जोड दिए ।

भिजिट नेपाल कार्यक्रमको अन्तिम दिनमा संस्कृति अभियन्ता अनिल चित्रकारले बुद्धको जन्मस्थल लुम्बिनीका बारेमा आयोजित प्रत्यक्ष कार्यक्रममा सहभागी भए । लुम्बिनी पूर्वाधार, गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र मास्टर प्लानका बारेमा वर्णन गर्दै चित्रकारले लुम्बिनी भगवान् बुद्धको जन्मस्थलका रूपमा भ्रमण गर्ने ठाउँ मात्र नभएर आफैँ चिन्न सघाउने गन्तव्य भएको प्रकाश पारे । ।

ड्रीम टु ट्राभल फेस्टिबल, डिजिटल अनुभवको सम्भावनामार्फत गन्तव्य र यात्रालाई एकजुट गर्ने भर्चुअल इभेन्ट हो, जुन ४ सातासम्म चली जुलाई १७ मा समाप्त हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement