घरजग्गा कारोबार ३३ प्रतिशतले घट्यो, किन्नेभन्दा बेच्ने धेरै, मूल्यमा गिरावट आउने संकेत

Advertisement

काठमाडौं । घरजग्गा खरिद–बिक्रीमा ब्रोकरको काम गर्दै आइरहेको ‘प्रोपर्टी ३६०’ कम्पनीमा लकडाउनको अवधिमा आफ्नो घर बिक्री गर्न भन्दै एक दर्जनभन्दा बढी प्रस्ताव आएका छन् । लकडाउन सुरु हुनुअघि फागुनमा भने घर बिक्री गर्न चाहने घरधनीहरू दुई दर्जनभन्दा बढी थिए भने खरिद गर्न चाहनेको संख्या पनि उस्तै थियो । तर, अहिले घर बिक्री गर्ने प्रस्ताव बढी आइरहेको प्रोपर्टी ३६० का सिइओ सन्तोष प्रधानले बताए । उनी भन्छन्, ‘१० वटा घर बिक्री गरिदिन प्रस्ताव आउँदा ६–७ जनाको मात्र खरिद गर्ने इन्क्वायरी आउने गरेको छ ।’

११ चैतदेखि सुरु भएको लकडाउनको अढाई महिनासम्म देशभरिकै मालमोत कार्यालयबाट घरजग्गा खरिद–बिक्री बन्द भयो । २५ जेठदेखि मालपोत कार्यालय खुले पनि घरजग्गा खरिद–बिक्री भने सुस्त छ । नेपाल रियल इस्टेट अर्गनाइजेसनका महासचिव विनोद सुवेदी भन्छन्, ‘अहिले मालपोतमा लकडाउनअघि पेन्डिङमा रहेका घरजग्गा पास गर्ने काम मात्र भइरहेका छन् ।’ उनी आफैँ पनि बिहीबार काभ्रे पुगेर लकडाउअघि बैना गरिएको जग्गा पास गरिदिएर काठमाडौं फर्किए ।

बजारमा कोभिड–१९ का कारण घरजग्गाको मूल्य घट्न सक्ने प्रक्षेपण गरेर खरिदकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन् । ‘अहिले पैसा ठिक्क पारेर बसेका खरिदकर्ता पनि मूल्य घट्ने अनुमानमा ‘पर्ख र हेर’को अवस्थामा छन्,’ प्रपोर्टी २४७ का चिफ अपरेटिङ अफिसर (सिओओ) हमिद खानले भने ।

कोभिड–१९ को महामारीले वायुसेवा, होटेल, रात्रिकालीन क्लब, रेस्टुरेन्ट, सपिङ मल, सिनेमा हलको व्यवसाय दयनीय बनाएको छ । कोभिडकै कारण धेरैले रोजगारी गुमाउनुपरेको छ भने कतिपयको आम्दानी घटेको छ । विश्वभरि नै कोरोनाको प्रभाव फैलिँदा वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा पनि ठूलै असर परेको छ । अर्थतन्त्रका सबै अवयवहरू शिथिल भएका कारण मालपोत कार्यालय खुले पनि घरजग्गा कारोबारमा पनि ठूलो झड्का लागेको व्यवसायीहरू बताउँछन् । तर, घरजग्गाको मूल्य र कारोबारको विषयमा भने अहिले यकिनसाथ भन्न नसकिने रियल इस्टेट अर्गनाइजेसनका महासचिव सुवेदी बताउँछन् । उनले भने, ‘घरजग्गा कारोबारको वास्तविकता थाहा पाउन अझै २–३ महिना लाग्छ ।’

घरजग्गा कारोबार एकतिहाइले घट्यो
असारदेखि अन्य व्यापार, व्यवसाय सामान्य अवस्थामा फर्कन थाले पनि घरजग्गा व्यवसाय भने एकतिहाइले घटेको मालपोत कार्यालयहरूको तथ्यांकले देखाएको छ । काठमाडौंको सबैभन्दा धेरै कारोबार हुने कलंकीस्थित मालपोतमा लकडाउन सुरु हुनुअघि माघ र फागुनको तुलनामा असारमा घरजग्गाको कारोबार ३३ प्रतिशतले घटेको छ । गत माघमा १२ सय ३४ वटा र फागुनमा १२ सय ६९ वटा घरजग्गा किनबेच भएका थिए । तर, असारमा ८ सय ६१ वटा मात्रै कारोबार भएको कलंकी मालपोत कार्यालयका सूचना प्रविधि अधिकृत केशव खतिवडाले जानकारी दिए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement