कथाकार पराजुलीको ‘कुमाता’को दोस्रो संस्करण बजारमा

Advertisement

चितवन । युवा पुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथासङ्ग्रह ‘कुमाता’ को दोस्रो संस्करण बजारमा आएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमात हुन्नन् ’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ ।

सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तु समेटिएको सो कथासङ्ग्रह गत फागुन २६ गते पहिलोपटक सार्वजनिक भएको थियो । छोटो अवधिमा दोस्रो संस्करण प्रकाशन भएको हो । मोफशलमा रही दुई दशकदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ सञ्चारकर्मी पराजुलीका कथासङ्ग्रहलाई भँुडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

कथासङ्ग्रह भित्रका विभिन्न शीर्षकका दश कथाले अवैधानिक रुपमा गर्भधारण गरेका कारण कयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरु भन्ने तथ्यलाई सरल, आकर्षण र जीवन्त रुपमा प्रस्तुत गरेको छ । पुस्तकले समाजको यथार्थतालाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ वढी हुँदा छिट्टै दोस्रो संस्करण छाप्नुपरेको प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए ।

गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको पाईन्छ । कथाकार वसन्त पराजुलीले भने, “ ‘कुमाता’ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो । यो कुमाताको कथा होइन, माताको कथा हो । यसमा नारीसमस्याका अतिरिक्त समसामयिक विविध विषय क्षेत्रका समस्या उजागर गरिएको छ ।”

पत्रकारिता , यसमा पनि इमान्दार पत्रकारका पीडा र समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर कथासङग्रहले उजागर गरेको छ । नारी संवेदनाका दृष्टिले कुमाता कथासङग्रह सशक्त देखिन्छ । यसका सङग्रहित प्रायः कथाहरुमा नारी संवेदना कुनै न कुनै रुपमा प्रस्तुत भएका छन् । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रुप लिन सक्छ । कुमाता बनाउन विवश बनाउने समाजलाई पुनः एकपटक गम्भीर रुपमा सोच्न बाध्य कथासङग्रहले बनाएको छ यस कथा सङग्रहका कथाहरुले ।

द्वन्द्वका सहभागी कार्यकर्ताको जीवनचर्या, निकुञ्ज क्षेत्र वरपरका सोझासाझा गाउँलेले भोग्नपरेका पीडा, दलित समस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञान आदि विविध विषय समेटिएका कुमाताका कथा विषयका हिसाबले रोचक रहेको पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्यम खतिवडाले बताए । उनले भने,“एउटा सञ्चारकमर्मी फुटकर समाचारमा मात्रै केन्द्रित हुनुभन्दा लेखिएका र देखिएका विषयलाई पुस्तकका रुपमा प्रकाशित गर्न सकिन्छ भन्ने सबैका लागि यो प्रेरणा बनेको छ । ”

लेखक पराजुलीले कथासङ्ग्रह यति छिट्टै दोस्रो संस्करण आउने अवस्था आउनुमा पाठकले आफूप्रति अपार माया र स्नेह दिनुभएको प्रतिक्रिया दिए । कथामा समेटिएका विषयवस्तुले पाठकको मन छोएकाले पनि यति छिटो दोस्रो संस्करण आउने अवस्था भएको उहाँको भनाइ छ । नदी झै सलल बगेको कथावस्तु, भाषामा सरलता र बोधगम्यताका कारण कथासङ्ग्रह उत्कृष्ट बन्न पुगेको छ ।

Advertisement

Advertisement

Advertisement