मैले किन किशोर प्रधानको टिमलाई नै रोजें ? सौरभ ज्योतिसँगको अन्तरवार्ता

Advertisement

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघमा यतिबेला चुनावी सरगर्मी बढेर गएको छ । संभवतः यही आउँदो साउन २६ गते हुने निर्वाचनका लागि महासंघका वर्तमान उपाध्यक्षद्धय किशोर प्रधान र चन्द्र ढकाल टिमसहित चुनावी तयारीमा जुटेको अवस्था छ । महासंघले प्रस्ताव गरेको मितिमा महासंघको साधारणसभा सम्पन्न गर्न सरकारले अनुमति दिइनसके पनि दिने संभावना भने देखिन्छ । यसै निर्वाचनमा उदयमान एक युवा व्यवसायी सौरभ ज्योतिले किशोर प्रधानको समूहबाट आफूलाई एशोसियट उपाध्यक्षको रुपमा प्रस्तुत गरेका छन् । प्रतिष्ठित व्यवसायिक घराना ज्योति समूहका सौरभ अहिले उपाध्यक्ष हुँदै अर्को पटक वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुने योजनामा छन् । यसै निर्वाचनका सन्दर्भमा उनीहरुसँग गरिएको कुराकानी प्रस्तुत छः

कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रतिकुल परिस्थितिमा नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । तपाईं पनि एउटा उम्मेवार । कस्तो छ चुनावी तयारी ?
हामीले चुनावको तयारी झण्डै नौ महिना अघिदेखि सुरु गरिसक्याथ्यौं । बीचमा कोभिड आइदियो । हामीले हाम्रो टिमबाट पनि छ महिना अघिदेखि तयारी गरिसकेका थियौं । यो टिम इफोट हो । तयारी राम्रै भइरहेको छ ।

तपाईंहरुले तोकेकै मितिमा चुनाव हुन्छ त ?
चुनावको मिति तोकिसकिएको छ । महासंघले आफ्नो आन्तरिक तयारी गरिरहेको छ । अझै पनि महामारीको स्थिति सामान्य भइनसकेको अवस्थामा हामी सरकारसँग समन्वय गरेर तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न प्रयास गछौं । कोभिडकै कारण केही अप्ठ्यारो पर्ने अवस्था आयो, गाह्रो भयो, स्थिति असामान्य भयो वा फेरि लकडाउन कडाई भयो भने अकै कुरा हो । सरकारको नियम र निर्देशन विपरित गर्ने कुरा हुन्न । स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हो । सबै सदस्यहरुको जीवन रक्षा गर्ने दायित्व महासंघको पनि हो । अहिले हेर्दा स्थिति सहज बन्दै गएको छ । यो हेर्दा साउन २६ मा चुनाव हुन्छ । चुनाव हुने हिसावले नै सबै काम भइरहेको छ ।

तपाईंहरु खुलेरै दुई वटा प्यानलमा चुनावी तयारी गर्दै हुनुहुन्छ । तपाईंले किशोर प्रधान प्यानललाई रोज्नुभयो । किन अर्को प्यानल रोज्नुभएन् ?
हाम्रो त्यस्तो प्यानल छैन् । म त्यस्तै प्रतिस्पर्धी भनेर पनि मान्दिन । किन भने म आफू आफ्नै प्रतिस्पर्धी हो । मैले हिजो जति काम गरेको छ, भोलिका दिनमा अझै राम्रो र लगनशील भएर, अझै मेहनत गरेर, समग्र अर्थतन्त्र र आम व्यवसायीको हकहितको लागि एशोसियट उपाध्यक्ष पदमा उम्मेदवारी दावी गरेको हो । महासंघमा मेरो अनुभव चार कार्यकाल भइसक्यो । १२ बर्ष । हुन त मलाई युवा भन्छ । तर मेरो अनुभव र कार्यकाल हेर्यो भने अरुभन्दा अग्रज हो । उमेरमा कम होला । महासंघमा युवा व्यवसायीहरुलाई आकर्षिक गर्नेगरी मैले सुरज वैद्य हुँदा नेपाल युवा उद्यमी मञ्च लिंक गरेको महासंघमा । त्यहीं मैले छ बर्ष बिताएँ । दुवैतिर जोड्ने हो भने १८–२० बर्ष भयो । महासंघमा मैले गुणस्तर, क्वालिटि कन्ट्रोल र कम्प्लाइन्समा धेरै नै काम गरें । त्यसपछि मैले एफएनसीसीआई नेशनल एक्सलेन्स अवार्ड भनेर अन्तर्राष्ट्रियस्तरको अवार्ड तत्कालिन प्रधानमन्त्री झलनाथ खनालसहित विभिन्न प्रधानमन्त्रीको हातबाट प्रदान गरियो । त्यसपछि मैले कर राजश्व समिति सम्हालें । बजेट र करको विषयमा धेरै छलफल गरियो । धेरै समस्याहरु समाधान गर्ने प्रयास गरियो । त्यसमा हामी सफल पनि भैयो । अहिले पनि हामी धेरै समस्याहरु समाधान गर्ने प्रयासमा लागेका छौं । अहिले आएर म बैंक र वित्तीय संस्थासँग सम्वन्धित इशुहरुमा, मौद्रिम नीतिको विषयमा सरोकारवालाहरुसँग धेरै अन्तरक्रिया र छलफल गरिरहेका छौं । बजेटले सम्बोधन गर्न नसकेका कुराहरु कसरी मौद्रिक नीतिमार्फत सम्बोधन गरेर मुलुकको अर्थतन्त्र जोगाउने ? कसरी यसलाई चलायमान बनाउने ? र भविश्यमा कोभिडबो असरबाट बाहिर निस्किन छोटो समयमा राहतहरु ल्याएर कसरी रिभाइभ हुने ? त्यो तिर लागिरहेका छौं ।

महासंघमा प्रतिस्पर्धी भनेको एउटा हो । चुनाव भनेको डेमोक्राटिक प्रोसेस हो । हुनुपनि पर्छ । तर मेरो दावी चाहीं जुन टिम अहिले आएको छ, किशोर दाईको टिम.....टिम भन्दा कस्तो हुन्छ भने त्यसमा माइण्डसेट पनि मिल्नुपर्यो । टिमओर्क पनि हुनुपर्यो । यी दुवै कुरा मिलाएर आगामी दिनमा काम गर्ने भन्ने हाम्रो भिजन हो । अब आउने जुन टिम हुन्छ महासंघको, त्यो टिम एकदमै डायनामिक, फरवार्ड थिङकिङ, अर्थतन्त्र चलायमान गर्न र विजनेश रिभाइभ गर्न कंक्रिट प्लान भएको, जसले अर्थतन्त्र जोगाउन सकोस, त्यस्तो टिम अब महासंघलाई चाहिन्छ । यो टिम (किशोर प्रधान नेतृत्वको) जो अहिले हामीसँग छ, यसले डेलिभर गर्न सक्छ । मेहनत गर्छ । खट्छ । निजी क्षेत्रको हकहितका लागि काम गर्नसक्ने क्षमता भएको टिम हो । त्यही भएर यो टिमको अलाइनमेन्ट भएको हो । कुनै राजनीतिक विषयबाट प्रभाव परेर यो टिम बनेको होइन् । मेरो हिसावले यो टिम राम्रो टिम हो । काम गर्ने टिम हो ।

हुन त तपाईंले राजनीतिक प्रभावमा टिम बनेको होइन् भन्नुभयो । तर महासंघभित्र निकै ठूलो राजनीति हुन्छ । आर्थिक चलखेल हुन्छ भन्ने कुरा छ । त्यो कुरालाई तपाईंले कसरी प्रतिरक्षा गर्नुहुन्छ ?
अवश्य राजनीति छ । टिमको अलाइनमेन्टमा एउटा माइण्डसेटको कुरा हो । कसरी टिममा काम गर्ने ? त्यहाँ अध्यक्ष मात्रै आएर पनि सुधार हुन सक्दैन् । सुधारका लागि टिमले नै काम गर्नुपर्छ । अध्यक्षको विपरित कार्यसमितिमा काम हुनथाल्यो भने त्यहाँ समस्याहरु आउँछन् । विकृतिहरु देखिन थाल्छन् । समग्र निजी क्षेत्रको हकहित र महासंघलाई सशक्त बनाउँदै लैजान अलाइनमेन्ट चाहिन्छ । त्यो टिममा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कार्यसमितिका सदस्यहरु सबै आउनुपर्छ । त्यो टिमलाई स्थापित गर्न हामीहरु लागिरहेका छौं । तपाईंले भनेजस्तो अवश्य पनि राजनीति छ भित्र । तर पनि यो टिम राम्रो छ भन्ने मेरो धारणा हो । मैले साथीहरुसँग काम गरेको, उहाँहरुको क्षमता देखेको हुनाले म यस टिममा आवद्ध भएको हो । राजनीतिको कारणले होइन् । दोस्रो किन म आवद्ध भएको भने महासंघ भनेको राजनीति गर्ने संस्था होइन् । राजनीति गर्ने भने राजनीतिक दलमा लाग्नुपर्छ । महासंघ भनेको डेलिभर गर्ने, काम गर्ने, अर्थतन्त्र जोगाउने, उद्योग व्यवसायको हकहितका लागि लड्ने संस्था हो । त्यसकारणले महासंघलाई राजनीतिमुक्त गर्नुपर्छ । र, प्रोफेशनल मानिसहरु आउनुपर्छ । सेक्रेटरियट पनि प्रोफेशनल हुनुपर्छ । अर्थतन्त्रको थिङ्क ट्याङ्कको रुपमा सरकारलाई सुझाव दिने र ग्रासरुटका देखि ठूला उद्योगसम्मको हकहितका लागि हामी लड्छौं ।

भनेपछि विगतमा महासंघका बैठकहरुमा देखिने आरोप प्रत्यारोप, नोट अफ डिसेन्ट जस्ता विकृतिहरु भोलिका दिनमा दोहोरिन दिन्नौं, तपाईंहरुको टिम विजयी हुँदा महासंघ स्वस्थ ढंगले अघि बढ्छ भन्न खोज्नु भएको हो ?
अहिलेको चुनाव नै त्यसैको लागि हो । त्यसैको लागि लडाईं भइरहेको हो । त्यहाँ पक्षविपक्ष भएर आर्थिक बहस हुनुपर्ने ठाउँमा आन्तरिक राजनीतिको कुरा मात्रै, पदको कुरा मात्रै, आरोप प्रत्यारोप मात्रै भइरह्यो । समय बर्बाद भइरहेको छ । उद्देश्यबाट हामी बाहिर गइरहेका छौं । महासंघको उद्देश्य त्यो होइन नि त । कार्यसमितिमा एउटै एजेण्डा हुनुपर्छ कसरी अर्थतन्त्रको विकास गर्ने ? कसरी जीडीपी ग्रोथ गराउने ? कसरी रोजगारी बढाउने ? पोलिसिगतरुपमा हाम्रा विभिन्न क्षेत्रका समस्याको समाधान कसरी गर्ने ? निजी क्षेत्रको संरक्षण के कसरी गर्ने ? उनीहरुको सुरक्षा कसरी गर्ने ? भन्ने हो । त्यसैका लागि नै अहिले चुनाव भइरहेको हो ।

कोभिड १९ र लकडाउनका कारण मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा छ । तपाईंहरु चुनावी हारजितको दौडमा रहँदा अर्थतन्त्र कसरी उकास्ने ? भन्ने विषयमा पनि बहस चलाउनुपर्ने होइन् ?
अवश्य पनि । महासंघले अहिलेका चुनौतिका विषयमा निरन्तर छलफल र बहस पनि गरिरहेका छौं सम्वद्ध व्यक्ति संस्थाहरुसँग । अहिले व्यवसायीहरुले भोगेका समस्या र समग्र मुलुकको अर्थतन्त्रलाई कसरी रिभाइभ गर्ने ? भन्ने कुरामा छलफल गरेर महासंघको तर्फबाट सरकारलाई सुझाव पनि दिएका छौं । हाम्रो सक्रियता नै अहिले त्यसैमा छ । अर्को कुरा
हामी एउटा त अहिले विषम परिस्थिति भएको हुनाले सबैभन्दा चुनौतिमा हुन्छ अबको नेतृत्व, जो आए पनि । त्यो चुनौतिको सामना गर्न हामीसँग रोडम्याप पनि छ । हाम्रो भावी अध्यक्ष (शेखर गोल्छा)ले पनि भन्नुभएको छ, ‘आर्थिक सुधारका लागि हामी अध्ययन गरेर १० बर्षको रणनीति ल्याउँछौं ।’ त्यसलाई ब्रेकडाउन गरेर पाँच बर्षमा कहाँ पुग्ने ? कोभिडको कारण कुन कुन क्षेत्रमा कस्तो असर परेको छ ? त्यो क्षेत्रलाई राहत दिन के के गर्नुपर्छ ? कसरी हामी आत्मनिर्भर हुने ? त्यो तिर हामी लङ्टर्म रोडम्याप लिएर अघि बढ्छौं । यही रोडम्यापका आधारमा आउँदो तीन–चार कार्यकालसम्म अलाइनमेन्ट बनाएर काम गछौं । तपाईं नै सोच्नुस् न । अध्यक्षको रणनीति एउटा छ, वरिष्ठ उपाध्यक्षमा अर्को आयो भने कसरी काम हुन्छ ? हामीले सरकारलाई पनि त्यही नै भनेका छौं । आर्थिक विकासको भिजन भनेको लङटर्म हुनुपर्छ । बर्षौंबर्षको । जोसुकै नेतृत्व आए पनि एउटै दिशामा आर्थिक विकास गर्न अघि बढ्नुपर्छ । महासंघमा पनि हामीले त्यही अलाइनमेन्ट गरिरहेका छौं ।

निजी क्षेत्रलाई नेतृत्व गर्न अघि बढ्ने क्रममा यसपछिको तपाईंको तयारी के हो ?
म आउन लागेको उपाध्यक्ष एशोसियटमा । त्यसपछि वरिष्ठ उपाध्यक्षमा जान्छु । त्यसपछि अध्यक्षकै लाइनमा जाने हो । त्यही अलाइनमेन्ट र सक्सेशन प्लानिङका आधारमा म पनि काम गर्छु र मैले आफ्नो योजना पनि बनाएको छु । महासंघ ठूलो संस्था पनि हो । सरकारपछिको ठूलो सञ्जाल भएको संस्था । तर एजेण्डाको आधारमा हाम्रो अल्ली सुनुवाई नभएको अवस्था छ । बढि राजनीति भएको छ । त्यो हुनाले त्यति प्रभावकारी हुन नसकेको हो । यसलाई प्रभावकारी बनाउने कुरामा टिमभित्र मेरो सशक्त भूमिका हुन्छ ।

नेतृत्वलाई अर्को पनि आरोप लाग्ने गर्छ ठूला व्यवसायीले हामी सानालाई हेरेनन् भनेर । त्यो खालको आरोप भोलिका दिनमा लाग्दैन भन्न सकिन्छ ?
अवश्य पनि लाग्दैन । किनभने महासंघ भनेको ठूला व्यवसायीको मात्रै होइन् । अरु संस्था होइन् । उनीहरुले ठूलालाई मात्रै हेरिरहेका छन् । कसैले मझौलालाई मात्रै हेर्छ । महासंघ सबै साना ठूला व्यवसायीको संस्था हो । त्यो भएकोले सबैलाई हकहितका लागि सन्तुलित ढंगले काम गर्नुपर्ने हुन्छ । गरिपनि रहेका छौं हामीले । पाँच दशकभन्दा लामो महासंघको यात्रामा सबैलाई समेटेर नै काम भइरहेको छ । ठूलो संस्था भएकाले गुनासोहरु हुनु स्वाभाविक पनि हो । त्यसलाई सकारात्मकरुपमा लिनुपर्छ । बरु कमिकमजोरी सुधार गर्दै लैजाने हो ।

Advertisement

Advertisement

Advertisement