चीनमा पछिल्ला तीन महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि

Advertisement

बेइजिङ । कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो ।

कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो नियन्त्रण गर्न सफल भएको विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको पछिल्ला तीन महिनामा अर्थतन्त्रमा व्यापक सुधार आएको अधिकारीहरुले बताएका छन् । चिनियाँ अर्थतन्त्रमा आएको सुधारले लकडाउनका कडा नियम लागू गरेका कारण आर्थिक मन्दीतर्फ अग्रसर कैयौं मुलुकलाई अनुकरणीय हुने देखिएको छ ।

चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोले बिहीबार सार्वजनिक गरेको विवरणमा गत अप्रिल–जुन महिनाको अवधिमा कूल गार्हस्थ्य उत्पादन ३.२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । पहिलो चौमासिक अवधिमा चीनको अर्थतन्त्रमा करिब ६.८ प्रतिशतको व्यापक गिरावट आएको थियो ।

तर अर्थतन्त्रको पूर्ण पुनरुत्थानका लागि भने केही समय लाग्नेछ । चिनियाँ खुद्रा बिक्रीमा भने पूर्वानुमानको तुलनामा केही घटेको छ । अघिल्लो वर्ष जुन महिनाको तुलनामा यस वर्ष खुद्रा बिक्रीमा १.८ प्रतिशतले कमी आएको छ । यसको अर्थ चीनमा कोरोनाभाइरस नियन्त्रणमा आएको देखिए पनि मानिसहरु बजारमा गएर सामान किन्न अझै हिच्किचाइरहेका छन् ।

ब्यूरोले नयाँ विवरण सार्वजनिक गरे पनि एसियाली शेयर बजारमा खुशी ल्याउन भने सकेन । शाङ्घाई र हङकङको शेयर बजार बिहीबार मध्याह्नसम्ममा झण्डै १ प्रतिशतले घटेको छ । एक्सीकर्पका रणनीतिकार स्टिफेन इन्सले मानिसमा आत्मविश्वास र उत्साह नआउँदासम्म उनीहरु बजारमा गएर सामान किन्छन् भन्न नसकिने बताउनुभयो ।

चीनको अर्थतन्त्रमा खुद्रा क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको छ । चिनियाँ नेताहरुले पनि अर्थतन्त्रलाई गति दिन व्यापार र लगानीभन्दा खुद्रा क्षेत्रका परिसूचकलाई नियाल्ने गरेका छन् । चिनियाँ सामानको विदेशमा माग कमजोर रहेको अवस्थामा घरेलु उपभोगलाई तिब्रता दिने प्रचलन रहिआएको छ । तर इन्सका अनुसार माग भन्दा आपूर्तिलाई सामान्यीकरण गर्न सजिलो हुन्छ ।

अक्सफोर्ड इकनमिक्सका लुइज कुइजले घरयासी उपभोगको परिसूचक सर्वाधिक कमजोर रहेको बताए । उनले चीनको आर्थिक स्थितिमा सन् २०२० को मध्यपछि निकै सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।चीनको तथ्याँक ब्यूरोले शहरी बेरोजगारी जुनमा ५।७ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो महिना यो ५.९ प्रतिशत थियो ।

औद्योगिक उत्पादन जुन महिनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । मे महिनामा यस्तो उत्पादन ४.४ प्रतिशतले वृद्धि भएको थियो । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले चीनको अर्थतन्त्र निरन्तर सुधारोन्मुख रहेको बताए । तर चीनका मुख्य व्यापारिक साझेदार मुलुकहरुमा कोरोना महामारीले चुनौती सिर्जना गरिरहेकाले चीनको राष्ट्रिय पुनरुत्थानमा अझै पनि दबाब छ । विश्वमै विशाल अर्थतन्त्र भएका मुलुकमध्ये चीनले मात्र सन् २०२० मा आर्थिक वृद्धि गर्ने अपेक्षा गरिएको छ । रासस–एएफपी

Advertisement

Advertisement

Advertisement