लकडाउन हटेपछि उद्योग वाणिज्य महासंघको साधारणसभा हुने निश्चित, तयारी अन्तिम चरणमा

Advertisement

काठमाडौँ । नेपाल सरकारले मंगलबार मध्यरातिदेखि लकडाउन हटाएपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा तोकिएकै मितिमा हुने पक्का भएको छ । महासंघको साधारण सभा यही साउन २६ र २७ गते काठमाडौँमा गर्ने यसअघि नै निर्णय भएको थियो । सोही अनुसार तयारी भइरहेको महासंघले जनाएको छ ।

लकडाउन जारी नै रहेको र कोरोना भाइरसका संक्रमितहरु पनि बढ्नसक्ने भन्दै सो साधारणसभा नहुने हो कि भन्ने आशंका नेपालका उद्योगी, व्यवसायीहरुमा थियो । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि मंगलबार ट्वीट गर्दै कोरोनाजन्य लकडाउनका कारण पूर्व निर्धारित समयमै साधारणसभा सम्पन्न गर्न चुनौतीहरु बढ्दै गएको बताएका थिए ।

तर हिजो साँझ सरकारले लकडाउन पूर्ण रुपमा हटेको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि भने साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएका छन् ।
साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको उक्त महासंघले जनाएको छ । आगामी हप्ता उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

आगामी साधारण सभामा किशोर प्रधान र चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुले आआफ्नो प्यानल पनि घोषणा गरेर निर्वाचनको प्रचार थालिसकेका छन् । सोमबार मन्त्रिपरिषदको बैठक गरेका निर्णयबारे जानकारी दिँदै हिजो सञ्चार मन्त्री डा. युवराज खतिवडाले सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउन मध्यरातिदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएका थिए ।

सो निर्णयअनुसार निजी सवारी साधनहरुमा लगाइएको जोरबिजोर प्रणाली पनि अब हटाइएको छ । यसैगरी सरकारले यही साउन १५ गतेदेखि सबै होटलहरु पनि खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यस्तै लामो दुरीका सवारीसाधनका साथै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पनि भदौ १ गतेदेखि गर्ने गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement