लगानी बोर्डको सीईओका लागि पाँच जनाको नाम ‘सर्टलिष्टिङ’, को होला सीईओ ?

Advertisement

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाँच जनाको नाम सर्टलिष्टिङ भएको छ । अर्थमन्त्री संयोजक रहेको छनोट समितिले १२ जना प्रस्तावकहरुमध्येबाट पाँच जनालाई सर्टलिष्टिङ गर्दै आफ्नो कार्ययोजना प्रस्तुत गर्न आमन्त्रण गरेको छ ।

छनोट हुने पाँच जनामा डा. सरोज कोइराला, दीपकराज जोशी, रामकृष्ण खतिवडा, सुशील ज्ञवाली र सुशील भट्ट छन् । यी मध्ये कोइराला प्रत्यक्ष वैदेशक लगानी (एफडीआई)मा विद्याविरिधि गर्ने नेपालको एक मात्रै व्यक्ति हुन । उनले यसअघि पनि सीईओका लागि आवेदन दिएका थिए ।

सीईओ नियुक्तिका लागि सिफारिस भएका तीन जनाको नाममा कोइराला नम्बरको आधारमा पहिलो भए पनि मन्त्रिपरिषद्ले महाप्रसाद अधिकारीलाई सीईओ नियुक्ति गरेको थियो । हाल प्रदेश नं. १ ले गठन गरेको लगानी प्राधिकरणको सीईओ रहेका उनलाई यस पटक संभावित सीईओका रुपमा हेरिएको छ ।

अर्का व्यक्ति जोशी नेपाल पर्यटन बोर्डका पूर्वसीईओ हुन् भने खतिवडा यसअघि बोर्डमा परामर्शदाताको रुपमा काम गरेर छोडेका व्यक्ति हुन् । वैचारिक हिसावले उनी काँग्रेस निकट भए पनि अहिले उनलाई कस्को समर्थन हो ? खुल्न सकेको छैन् । खतिवडालाई अर्थमन्त्री युवराज खतिवडा र गभर्नर महाप्रसाद अधिकारीको समर्थन रहेको बुझिएको छ ।

ज्ञवाली सत्तारुढ दल नेकपाका महासचिव बिष्ण पौडेलसँग निकट व्यक्ति मानिन्छन् । उनी अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओसमेत छन् । त्यस्तै, भट्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिन्छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्यसमेत छन् । जलविद्युत क्षेत्रमा लाग्दै आएका भट्ट चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीका नेपालका एजेन्टका रुपमा समेत परिचित छन् ।

यसअघि छनोट भए भनिएका माछापुछ्रे बैंकका पूर्वसीईओ सुमन शर्मा र नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्टको नाम काटेर सुशील भट्टलाई छिराइएको छ । छनोट भएकाहरुलाई विभिन्न मितिमा प्रस्तुतीकरणका लागि बोलाइएको छ । सीईओ छनोटका लागि अर्थमन्त्री खतिवडाको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज पराजुली र डा. गोविन्द नेपाल संयोजक रहेको समिति बनाइएको छ । महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनर हुन गएपछि लगानी बोर्डको सीईओ रित्त छ ।

Advertisement

Advertisement

Advertisement