सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, आजपनि सुन प्रतितोला ५ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य लगातार बृद्धि भइरहेको छ । यसैक्रममा गत शुक्रबारको तुलनामा आज पनि सुन प्रतितोला ५ सय रुपियाँ बढेको छ भने चाँदीको मूल्य समेत प्रतितोला ५ रुपियाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार ८ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार १ सय ५५ रुपियाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार भने अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेर कारोबार भइएको थियो । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार ३ सय ६५ रुपियाँ र चाँदी प्रतितोला एक हजार १ सय ५० रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ९०१ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । “नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो”, उनले भने । तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उनले बताए । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । “अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्”, अध्यक्ष सुनारले भने ।

Advertisement

Advertisement

Advertisement