आन्तरिक किचलो छताछुल्ल भएपछि सनराइजमा राष्ट्र बैंकको 'इन्ट्री'

Advertisement

काठमाडौं । सञ्चालक समिति र व्यवस्थापक(सिइओ)बीचको किचलो छताछुल्ल भएपछि सनराइज बैंकमा नेपाल राष्ट्र बैंकको इन्ट्री भएको छ । विवाद छताछुल्ल भएपछि राष्ट्र बैंकले आइतबार बैंक सञ्चालकहरुलाई बोलाएर छलफल गरेको हो । ‘सञ्चालक र सिइओबीचको विवाद बाहिर गएपछि के भएको हो ? भनेर सोधेका छौं, उहाँहरुले जे भएको हो त्यहि भनेर जानु भएको छ’, राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले कर्पाेरेट नेपालसँग भने ।

ढकालका अनुसार बैंकको आन्तरिक विवाद बाहिर आएपछि राष्ट्र बैंकले चासो देखाएको र अब सिइओलाई पनि बोलाएर कुरा गरिनेछ । ‘हामीले सञ्चालकका कुरा सुनिसकेका छौं, अब सिइओलाई पनि बोलाएर कुरा सुन्छौं, त्यसपछि आउने निचोडका आधारमा राष्ट्र बैंकले कदम चाल्नेछ’, ढकालले भने ।

उनले सञ्चालक र सिइओबीचको किचलो बाहिर आउनै नहुनेमा पनि जोड दिए । त्यसरी किचलो बाहिर आएपछि राष्ट्र बैंकले आफ्नो जिम्मेवारी निर्वाह गर्ने पनि उनले स्पष्ट पारे । ‘विवाद बाहिर आउनु नै दुर्भाग्य हो, अब राष्ट्र बैंकले आफ्नो जिम्मेवारी पुरा गर्छ’, ढकालले भने । तर राष्ट्र बैंकले आफ्नो कस्तो जिम्मेवारी पुरा गर्ने भन्नेबारे भने केहि पनि बताएनन् ।

सनराइज बैंकमा सञ्चालक र सिइओबीचको विवाद उत्कर्षमा पुगेपछि राष्ट्र बैंकले छलफलका लागि बोलाएको हो । अब सिइओ जनकराज शर्मा पौडेललाई पनि बोलाएर छलफल गरि निष्कर्षमा पुग्ने कार्यकारी निर्देशक ढकालले बताए ।

अध्यक्ष मोतिलाल दुुगडको चाहना अनुसार सिइओ बनेका निरज श्रेष्ठलाई अर्का सञ्चालक शैलेन्द्र गुरागाई समुहले कार्यभार नै सम्हाल्न नदिएर बाहिरिन बाध्य पारेको थियो । गुरागाईँहरुको चाहना अनुसार सिइओ बनेका जनकराज शर्माले समेत दुगडकै पक्ष लिएपछि सनराइज बैंकमा विवाद बढेको हो ।

सञ्चालक मालचन्द दुगड र शैलेन्द्र गुरागाईँ पक्षले सिइओ बनाएका शर्माले अन्ततोगत्वा अध्यक्ष दुगडकै पक्ष लिएपछि उनीहरु बिच्किएका हुन् । सिर्जना फाइनान्स गाभ्ने विषयमा पनि सञ्चालकहरुबीच विवाद छ । त्यसकै घानमा सिइओ पौडेल परेका छन् ।

Advertisement

Advertisement

Advertisement