सुनको मूल्य निरन्तर उकालो, आज पनि प्रतितोला १ हजार २ सय रुपियाँ बढ्यो, कारोबार भने ठप्प

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य दिनदिनै उकालो लागिरहेको छ । गत शुक्रबारको तुलनामा हिजो प्रतितोला ५ सय रुपियाँ बढेको सुनको मूल्य आज पुनः प्रतितोला १ हजार २ सय बढेर कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि हिजो प्रतितोला ५ रुपियाँ बढेको थियो भने आज एकैदिन ५५ रुपियाँ बढेर किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय १० रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार ८ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार १ सय ५५ रुपियाँमा कारोबार भएको थियो ।

गत शुक्रबार भने अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेर कारोबार भइएको थियो । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार ३ सय ६५ रुपियाँ र चाँदी प्रतितोला एक हजार १ सय ५० रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । “नेपाली बजारमा मुख्यतः कोरोनाको असरका कारण कारोबार शून्य भएको हो”, उनले भने । तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उनले बताए । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । “अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्”, अध्यक्ष सुनारले भने ।

Advertisement

Advertisement

Advertisement