श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द गर्ने व्यवस्थापनको निर्णय, उद्योग दुई अर्ब १७ करोड घाटामा

Advertisement

काठमाडौँ । दुई दशकअघि रौतहट जिल्लाको गरुडामा स्थापना भएको श्रीराम सुगर मिल्स २०७७ साउन ११ गतेदेखि स्थायी रुपमा बन्द भएको छ । उद्योग व्यवस्थापनले आर्थिक अवस्था जर्जर भएको र पूँजीको अभाव भएकाले उक्त चिनी उद्योग स्थायी रुपमै बन्द गर्ने निर्णय गरेको सम्बन्धित निकायलाई जानकारी गराएको छ ।

उद्योग स्थापनाको सुरुका केही वर्षहरुमा उक्त चिनी उद्योग राम्रैसँग सञ्चालनमा आएको भएपनि विगत लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको थियो । एक आर्थिक वर्षमा नै उद्योगलाई करोडौँ घाटा हुन थालेको र जसका कारण उखु कृषकहरुको रकम समेत भुक्तानी गर्न नसकी अवस्था दिन प्रतिदिन जर्जर हुन गएपछि स्थायी रुपमा उद्योग बन्द गर्ने निर्णयमा पुगेको व्यवस्थापनले प्रकाशित गरेको जरुरी सूचनामा उल्लेख छ ।

उद्योग व्यवस्थापनका अनुसार आर्थिक वर्ष २०७५/७६ सम्म कम्पनीको घाटा दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७६ रुपियाँ रहेको छ । उद्योगले विगत ४ महिनादेखि कार्यरत कर्मचारीको पारिश्रमिक समेत भुक्तान गर्न सकेको छैन । २०७६ फागुन १३ गतेदेखि उद्योग पूर्ण रुपमा बन्द रहँदै आएको छ ।

उद्योग बन्द भएपछि कार्यरत श्रमिक कर्मचारीहरुलाई बाँकी रहेको तलब भत्ता र अन्य सुबिधाको रकम भुक्तानी गर्दै जाने व्यवस्थापन पक्षले जनाएको छ । उद्योग व्यवस्थापनसँग आर्थिक अभाव भएका कारण कम्पनीको नाममा रहेको अलचलच सम्पत्ति बिक्री गरी भुक्तानी गर्ने अत्यन्त जरुरी सूचनामा उल्लेख छ ।

उद्योग व्यवस्थापनले साउन ९ गते अत्यन्त जरुरी सूचना प्रकाशित गरी दुई दशक भन्दा बढी समयदेखि सञ्चालनमा रहेको चिनी उद्योगलाई स्थायी रुपमा सधैँको लागि बन्द गर्नु पर्दा अत्यन्त दुःख लागेको उल्लेख गरेको छ ।

व्यवस्थापन पक्षले उद्योग स्थायी रुपमा बन्द गर्न लागेको सूचना श्रम तथा रोजगार कार्यालय वीरगञ्ज, श्रम तथा रोजगार कार्यालय टेकु, श्रम तथा व्यवसायजन्य सूरक्षा विभाग काठमाडौँ, उद्योग विभाग त्रिपुरेश्वर, अन्तशुल्क विभाग काठमाडौ, उद्योग मन्त्रालय सिंहदरबार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट, उद्योग वाणिज्य महासंघ वीरगञ्ज, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालय काठमाडौँ, नेपाल धितोपत्र बोर्ड(सेबोन) र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेमा बोधार्थ पठाएको छ ।

Advertisement

Advertisement

Advertisement