सनराइजभित्रको सञ्चालक–सीईओ विवाद उत्कर्षमा, खास कारण यस्तो रहेछ (प्रमाणसहित)

Advertisement

काठमाडौं । यतिबेला सनराइज बैंकमा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)बीचको विवाद उत्कर्षमा पुगेको छ । सञ्चालक समितिको साउन ८ गतेको बैठकले सीईओ जनक शर्मा पौड्याललाई ३ दिनभित्र सफाई पेश गर्न भन्दै स्पष्टिकरण सोधेको थियो ।

सञ्चालक समिति अध्यक्ष मोतिलाल दुगडको हस्ताक्षर रहेको उक्त पत्रमा ‘तपाईं र सञ्चालक समितिबीच २०७६।०३।२७ गते भएको प्रमुख कार्यकारी अधिकृतको नियुक्तीसम्बन्धी सम्झौतामा भएको व्यवस्थाअनुसार तपाईलाई प्रमुख कार्यकारी अधिकृतको पदबाट किन अवकास नदिने हो ? अवकास दिनु नपर्ने कुनै आधार भए सो प्रमाणसहित कारण समेत उल्लेख गरि सोको चित्तबुझ्दो जवाफसहित यस पत्रको ३ कार्य दिनभित्र सफाई पेश गर्नुहुन मौका दिइएको जानकारी गराउँदछु’ भनिएको छ ।

Advertisement

सञ्चालक समितिले पेलेपछि सीईओ पौड्यालले शक्ति केन्द्रहरुमार्फत सञ्चालक समितिका पदाधिकारीलाई फोन गराएर पद जोगाउने प्रयास गरिरहेको स्रोतको भनाई छ । पौड्यालले साउन ८ गते नै आफूलाई हटाएर देखाउन सञ्चालक समितिलाई खुल्ला चुनौती दिएका थिए ।

सीईओ पौड्यालले अहिलेसम्म सफाई पेश गरेका छैनन् । बरु अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट फोन गराएर सञ्चालकहरुलाई कारवाही फिर्ता लिन दबाब दिएका छन् । स्रोतका अनुसार अर्थमन्त्री युवराज खतिवडाले नै बैंकका अध्यक्ष मोतिलाल दुगडलाई फोन गरेर पौड्याललाई नहटाउन सुझाव दिएका थिए । त्यति मात्रै होइन, नेपाल राष्ट्र बैंकबाट पनि पौड्याललाई नहटाउन दबाब आएको छ ।

त्यसपछि राष्ट्र बैंक आफैले आइतबार बैंकका सञ्चालकहरुलाई बोलाएर विवादका विषयमा छलफल पनि गर्यो । नियामन विभागका प्रमुख देवकुमार ढकालले सञ्चालकहरुलाई बोलाएर सीईओसँगको विवाद मिलाउन सुझाव दिएका थिए ।

ढकाल भन्छन्, ‘हामीले सञ्चालकहरुसँग छलफल गर्यौं, आन्तरिक विवाद आफैं मिलाउनुस् भनेर पठाएका छौं ।’ सीईओ पौडेललाई पनि बोलाएर कुरा गर्ने सोच बनाएको राष्ट्र बैंकले बैंकका सञ्चालकहरुसँगको कुरा सुनेपछि उनलाई नबोलाउने निचोडमा पुगेको छ ।

यसैबीच, पौड्याललाई नहटाउनका लागि लबिङ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि प्रयास गरेका थिए । उनले सनराइज बैंकका सञ्चालकहरुलाई फोन गरेर सीईओ पौड्याललाई नहटाउन आग्रह गरेका थिए ।

यसरी सुरु भयो किचलो

बैंक सञ्चालक समितिले पौड्याललाई २०७६ साल असार २८ गते सीईओ नियुक्त गरेको थियो । उनलाई सीईओ बनाउनुअघि समितिले निरज श्रेष्ठलाई सीईओ नियुक्त गरेको थियो । तर सञ्चालक मालचन्द दुगड र शैलेन्द्र गुरागाईको अनुपस्थितिमा गरिएको निर्णय कार्यान्वयन हुन सकेन् । त्यसपछि पौड्याल सनराइज प्रवेश गरे । तर पौड्यालले सीईओ पद सम्हालेपछि बैंकमा बेथिति बढेको केही सञ्चालकहरु कुरा उठाउँदै आएका थिए ।

पौड्यालले ग्लोबल आइएमई बैंकबाट केही कर्मचारीलाई भित्र्याएर सनराइजका पूराना कर्मचारीहरुको जिम्मेवारी खोसेको आरोप लागेको छ । कर्मचारीहरुमा काखा र पाखाको व्यवहार गरेको भन्दै सनराइजका पूराना कर्मचारीहरुले केही सञ्चालकहरुको कान फुकेपछि पौड्यालविरुद्ध माहौल बन्दै गयो ।

पाँच सञ्चालकको हस्ताक्षर, ६ बुँदे अभियोग

बैंकभित्र सीईओ पौड्यालका विरुद्ध कर्मचारीहरुमा व्यापक असन्तुष्टि बढ्दै गएपछि पाँच जना सञ्चालकहरुले अध्यक्ष मोतिलाल दुगडलाई पत्र लेखे । उनीहरुले पत्रमा पौड्यालमाथि ६ बुँदे अभियोग लगाए । जसमा कर्मचारीमाथि असमान व्यवहार गरेकोदेखि सम्झौताअनुसार काम गर्न नसकेको, मिडियाबाजी मात्रै गर्दै हिडेको आदि छन् ।

त्यसमा सञ्चालक समितिका मालचन्द दुगड, शैलेन्द्र गुरागाईँ, ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी र बच्छराज तातेडले हस्ताक्षर गरेका छन् । सात सदस्यीय सञ्चालक समितिमा पाँच भाई एकातिर भएपछि अध्यक्ष मोतिलाल दुगड पनि गल्न बाध्य बनेको स्रोतको भनाई छ ।

अब के गर्लान पौड्याल ?

बैंक सञ्चालक समितिको निर्णय अनुसार सीईओ भएका पौड्यालले यतिबेला सञ्चालक समितिको निर्णय अनुसार सफाई समेत पेश नगरी अनुपस्थित रहेका छन् । पौड्याल समितिले पेलेको भन्दै स्पष्टिकरण नदिने अडानमा छन् भने सञ्चालक समिति पौड्यालबाट बैंक नचल्ने निष्कर्षमा पुगेको छ ।

सञ्चालक समितिसँग मिलेर आफूले गरेको सम्झौता पूरा गर्ने भन्दा पनि शक्ति केन्द्रबाट फोन गराउनेतर्फ पौड्याल लागेकाले उनीले राजीनामा दिएकै राम्रो हुने सञ्चालकहरुको राय छ । यतिबेला सञ्चालक समितिले पौड्यालका अधिकांश अधिकार नै कटौती गरिसकेको छ ।

उनलाई बैठकमा समेत आउन दिईएको छैन् । साउन ८ गते कै बैठकमा पौड्याललाई बस्न दिईएको थिएन् । त्यति मात्रै होइन, पौड्यालले यतिबेला साढे ४ करोडदेखि पाँच करोडका ऋणमा मात्रै निर्णय गर्न सक्ने अधिकार पाएका छन् ।

त्यस बाहेकका सबै अधिकार पौड्यालबाट खोसिएको छ । सनराइज बैंकभित्र सञ्चालक समिति र सीईओबीचको विवाद झाङ्गिदै जाँदा समिति र सीईओको कार्यक्षेत्र कति हो ? तालमेल कसरी मिलाउने ? भन्ने बहस उठ्न थालेको छ । यसअघि ग्लोबल आइएमईमा पनि लामो समय नटिकेका जनक शर्मा पौड्यालको कार्यशैलीलाई पनि कतिपयले कमजोरीको रुपमा औंल्याउँछन् ।

सञ्चालक समितिका विकल्प

अर्थमन्त्री, राष्ट्र बैंक र अन्य शक्ति केन्द्रहरुको फोन आएपछि सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले नै केही दिन सञ्चालक समिति बैठक पर सार्न अनुरोध गरेको सञ्चालकहरु बताउँछन् ।

‘सञ्चालक समितिको बैठक केही दिन पर सारिएको मात्रैै हो, टरेको छैन्, बैठक बसेका दिन सीईओबारे निर्णय हुन्छ’, स्रोतले भन्यो । त्यो निर्णय संभवतः पौड्याललाई अवकाश दिने हुनसक्ने अडकल गरिएको छ ।

पौड्याललाई नियमित कार्यालय आउने र घर जाने सर्तमा मात्रै सीईओ पदमा कायम राख्नुमा बाहिरी दबाब मुख्य कारण देखिन्छ । अन्यथा समितिले यसअघि नै उनलाई अवकाश दिएर नयाँ सीईओको खोजी सुरु गरिसकेको हुन्थ्यो ।

प्रवल संभावना उनलाई अवकाश दिने वा राजीनामा गराउने हुनसक्छ । शक्ति केन्द्रहरुबाट दबाब बढ्दै गएमा केही समयका लागि पौड्याललाई निरन्तरता दिनसक्ने संभावना कायमै देखिन्छ ।    

Advertisement

Advertisement