एक पदबाट हट्न निर्देशन दिने सुइँको पाएपछि ओलीले स्थायी समिति बैठक स्थगित गरेको खुलासा

Advertisement

काठमाडौं । सहमति जुटाउने एक महिनादेखिको प्रयास असफल र अविश्वासमा बदलिएपछि सत्तारुढ दल नेकपामा औपचारिक रूपमा शक्ति–परीक्षण सुरु भएको छ । पार्टीको स्थायी कमिटी बैठक स्थगित वा सञ्चालनमा दुई समूहबीच विवाद भएको छ । र, सहमति नभएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बहुमत सदस्यले बैठक गरेका छन् । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहका नेताले बहिष्कार गरेका छन् ।

नियमित एजेन्डामा प्रवेश नगरी छलफल सकिए पनि ओलीको असहमतिबीच सम्पन्न स्थायी कमिटीको बैठकपछि नेकपाको शक्ति–संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । स्थायी कमिटी बैठक सुचारु गर्ने गरी छिट्टै नयाँ सहमति नभए अल्पमत–बहुमतको शक्ति–परीक्षणका लागि केन्द्रीय कमिटी र संसदीय दलतिर शक्ति–संघर्ष उन्मुख हुने ढोका खुलेको छ । यससँगै नेकपा नेताहरूले विभाजन हुन नदिन गम्भीरतासाथ होसियारी अपनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एकल निर्णयमा मंगलबारको बैठक स्थगित गरेपछि असन्तुष्ट बनेको दाहाल–नेपाल समूहले बालुवाटारमै बैठक गरेका हुन् । बहुमत सदस्य बालुवाटारमा भेला गरेर प्रचण्ड–नेपाल समूहले ओली समूहमाथि दबाबको राजनीति बनाएको छ । साथै यो समूहले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाए बहुमतबाट ठोस निर्णय लिन सकिने सन्देश दिएको छ । यद्यपि ओली समूहले प्रचण्ड–नेपाल समूहको बैठकलाई मान्यता दिएको छैन ।

एक व्यक्तिः एक जिम्मेवारीको नीति लागू गर्न प्रधानमन्त्री ओलीलाई एक पद छाड्न दबाब दिँदै आएको प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरूको बैठक सम्पन्न गरेर बैठक स्थगित गर्ने ओलीको कदमको आलोचना गरेको छ । मंगलबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सामाजिक सञ्जालमार्फत बैठक स्थगित भएको सूचना बाहिर ल्याएका थिए ।

११ बजे बोलाइएको बैठक अचानक स्थगित भएपछि प्रचण्डले खनालसँगै प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न जाने प्रचण्डको प्रस्तावमा नेपाल भने गएका थिएनन् । बैठक सञ्चालन गर्न प्रधानमन्त्री ओली तयार नभएपछि प्रचण्ड–नेपाल समूहका बहुमत सदस्यले बैठक गरेका थिए । बैठकमा ४४ सदस्यीय स्थायी कमिटीका २८ नेता सहभागी थिए । प्रचण्ड–नेपाल समूहका नेताहरूको बैठक चलिरहेका वेला ओलीले बालुवाटारमै आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग परामर्श गरेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीसहित उनीनिकट १० तथा पूर्वमाओवादी समूहका चारसहित १५ जना नेता सहभागी भएनन् । पूर्वमाओवादी समूहका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र नेताहरू टोपबहादुर रायमाझी र मणि थापाबाहेक प्रचण्डनिकट १६ तथा वरिष्ठ नेता माधवकुमार नेपाल १२ र मंगलबार प्रधानमन्त्री ओलीको समर्थनमा खुलेका उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी थिए । त्यस्तै, आमन्त्रित सदस्यका रूपमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ सहभागी थिए ।

बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरेको निर्णय उचित नभएको निष्कर्ष निकालेको थियो । त्यस्तै, बैठकले पार्टी एकता र विधि तथा परम्परालाई ध्यानमा राखेर अर्का अध्यक्ष ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मेवारी दिएको छ । यद्यपि, बैठक सुरु नहुँदै उपस्थित महासचिव विष्णु पौडेलले माइन्युटिङ साथमा लिएर गएका कारण माइन्युटमै निर्णय उल्लेख गरिएको छैन । महासचिवपछि ओलीनिकट नेता रघुवीर महासेठ पनि बैठकबाट निस्केका थिए ।

‘जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष ओली एक्लैले स्थगित भएको सूचना जारी गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी ओलीसँग छलफल गरी बैठक सुचारु गर्न अर्का अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले ग¥यो,’ निर्णयका लागि बैठकबाट पारित प्रस्ताव उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । त्यस्तै, बैठकले पार्टी एकताको रक्षा गर्न, विधि र पद्धतिसम्मत ढंगले अघि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउन सबै नेता–कार्यकर्ता र सदस्यलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न पनि आग्रह गरेको छ ।

सोमबार प्रचण्डनिवासमा बसेको समूहको बैठकले स्थायी कमिटी सुचारु गर्ने, नियमित एजेन्डामा छलफल गर्ने र ओली सहमतिमा नआए बैठकबाटै प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्न निर्देशन दिने रणनीति बनाएको थियो । त्यसको अर्को दिन ओलीले एकतर्फी रूपमा बैठक स्थगन गरेका हुन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement