मेलम्चीमा गम्भीर प्राविधिक त्रुटि

Advertisement

काठमाडौं । मेलम्चीमा गम्भीर प्राविधिक त्रुटिका कारण दुर्घटना भएको खानेपानी मन्त्रालयद्वारा गठित छानबिन समितिका ठहर छ । पर्याप्त प्राविधिक आधार तयार नगरी लापरबाही ढंगले डिजाइन र जडान गरेकाले मेलम्ची सुरुङको ढोका खुलेर दुर्घटना भएकोले पुनरावलोकन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिले मन्त्रालयका सचिव माधव बेल्बासेलाई बुझाएको छ ।

सुरुङमा पानी पठाउन परीक्षण भइरहँदा गत असार ३० मा सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहाननजिकैको फ्लसिङ अडिटको ढोका खुलेर चार कर्मचारीलाई गाडीसहित बगाएको थियो । घटनामा परेका तीन इन्जिनियरमध्ये एकको मृत्यु भएको छ भने घाइते अवस्थामा उद्धार गरिएका दुई उपचाररत छन् । एक जना कर्मचारी अझै फेला परेका छैनन् । उक्त घटना छानबिन गर्न मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन गरेको थियो ।

प्रतिवेदनअनुसार सुरुमा सुरुङभित्र खुल्नेगरी बनाइएको ढोकाको डिजाइन परिवर्तन गरेको र बाहिरबाट खुल्ने बनाउँदा निर्माण कम्पनी, परामर्शदाता र आयोजनाबीच पर्याप्त छलफल नहुनुका साथै प्राविधिक जाँच नै नभएकाले ढोकाका नटबोल्टहरू खुस्किएर दुर्घटना भएको हो । ढोका पहिले भित्रबाट खुल्ने बनाएको डिजाइन परिवर्तन गरेपछि त्यसको जडानमा किन ख्याल गरिएन भन्ने प्रश्न उठेको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement