बैंकहरुसँग पौने तीन अर्बको सुन, भाउ आकाशिएकोले फाइदैफाइदा

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि तथा सोही कारण नेपाली बजारमा मागसमेत खस्किएकाले बैंकहरूले आयात गरेको ३ सय २१ केजी सुन बिक्री हुन सकेको छैन । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत ९ साउनसम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ । अहिलेको बजार मूल्यअनुसार बैंकहरूमा २ अर्ब ७१ करोड रुपियाँबराबरको सुन स्टक रहेको हो । 

‘बुधबार ४ बजेको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार प्रतिदश ग्राम सुनको मूल्य ८४ हजार ६ सय ४७ रुपियाँ हुन्छ,’ एक बैंकका वित्त विभाग प्रमुखले भने, ‘यस आधारमा बैंकहरूसँग अहिले भएको सुनको मूल्य करिब २ अर्ब ७१ करोडबराबर हो ।’ २१ वाणिज्य बैंकले गत आर्थिक वर्ष ०७६।७७ का लागि कुल २ हजार ४ सय सुन ल्याउने अनुमति पाएका थिए । राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनसम्ममा भने कुल १३ अर्ब ६३ करोड रुपियाँको सुन आयात भएको थियो । यो गत वर्षको तुलनामा करिब ५७ प्रतिशतले कमी हो । 

Advertisement

न घाटा, न नाफा 
बैंकहरूमा सुन नबिकेर थुप्रिए पनि यसले खासै घाटा वा नाफा हुने अवस्था भने छैन । बैंकहरूले स्ट्यान्ड बाई ग्यारेन्टीअन्तर्गत सुन आयात गरेका हुन्छन् । अर्थात्, बैंकहरूले सुन खरिद गरेरभन्दा पनि स्टकका रूपमा ल्याएका हुन्छन् । यस्तो स्टक जुन मितिमा बिक्री हुन्छ, त्यही समयको मूल्यका आधारमा सुन उत्पादकलाई बैंकहरूले भुक्तानी गर्नुपर्छ । यस्तो ग्यारेन्टीका रूपमा नेपाली बैंकको पक्षबाट अन्तर्राष्ट्रिय बैंकले जमानी बसिदिएको हुन्छ । सामान्यतया यसरी स्टक ल्याएको सुनको करार अवधि १ वर्ष हुन्छ । तर, यदि बिक्री भएन भने बैंकहरूले करार नवीकरण गर्नुपर्छ । करार नवीकरण गर्दा प्रतिकेजी सुनको मूल्यको १ प्रतिशत रकम वार्षिक शुल्कका रूपमा तिर्नुपर्ने हुन्छ । 

नयाँपत्रिका दैनिकबाट । 

Advertisement

Advertisement