चार महिनापछि खुले होटल रेष्टुराँ, पुरानै लयमा फर्काउन भने समय लाग्ने

Advertisement

काठमाडौँ । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । 
    
पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा आउने भएका हुन् । बन्दाबन्दी खुलेसँगै पर्यटन व्यवसायीले नयाँ उत्साहका स्वास्थ्य प्रोटोकल पालना गर्दै व्यवसाय अघि बढाउने योजनामा छन् ।

विशेष गरी विदेशबाट आउने पर्यटकको विषयमा स्वास्थ्य प्रोटोकलको स्पष्ट मापदण्ड नहुँदा अझै होटल व्यवसायीमा अन्यौलता कायमै छ । विदेशी पर्यटक नेपाल घुम्न आउँदा क्वारेन्टिन बस्नुपर्ने नपर्ने अथवा पिसिआर रिपोर्टले मात्रै पुग्नेलगायत विषयमा अझै अन्योल रहेको होटल एशोसिएशन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । 

Advertisement

उनका अनुसार प्राटोकलले हवाई जहाज कम्पनी, होटल, रेष्टुँरा तथा अन्य पर्यटनसँग सम्बन्धित कम्पनीले यो यो गर्ने भने पनि विदेशी पर्यटन नेपाल छिरे पछि तत्कालै के गर्ने भन्ने अन्योलले विदेशी नेपाल आउन चाहे पनि तत्काल आउने सम्भावना कम रहेको छ ।    
 
व्यवसायीले पर्यटकलाई स्वागत गर्न पूर्ण तयारी अवस्थामा रहेको जनाएका छन् । चार महिनादेखि प्रायः ठप्प होटेल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि आन्तरिक पर्यटकीय गतिविधि बढ्नासाथ व्यवसाय केही हदसम्म उकासिने उनीहरूको बुझाइ छ । अहिले पनि अल्पाइन क्लबका सदस्य, नेपाललाई माया गर्ने पर्यटकले पुरानो बुकिङसमेत रद्द नगरी बसेका अवस्थामा यसलाई सहज गरिदिनुपर्ने उहाँको भनाइ छ ।

पदयात्रा वा पर्वतारोहणमा जाँदा सामाजिक दूरी कायम रहने भएकाले नेपाल आउने पर्यटक शहरभन्दा गाउँ जान प्रकृतिसँग रम्न चाहने भएकाले उसलाई आउनासाथ कसरी त्यहाँ कसरी लैजाने भन्ने टुङ्गो सरोकारवालाले लगाउनुपर्ने टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानले जनाएको छ ।
    
शुरुआती चरणमा पर्यटक कम सङ्ख्यामा आउने आँकलन गर्दै होटलले पूर्ण क्षमताको १० प्रतिशत मात्रै सेवा सञ्चालन गर्ने गरी होटल सञ्चालनमा ल्याउने व्यवसायीको तयारी छ । पछिल्लो एक साता होटल, रेष्टुराँ तथा बार व्यवसायीले सेवा सञ्चालनका लागि आफ्ना कर्मचारीलाई तालीम दिने, स्वास्थ्य मापदण्ड बनाउनेलगायत काम सम्पन्न गरेको हानले जनाएको छ ।

अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन शुरू गरिएको व्यवसायीले बताएका छन् । यस्तै होटेल सञ्चालन गर्न आवश्यकताबमोजिम कर्मचारीलाई तालीम दिइसकेका रेष्टुराँ तथा बार एशोसिएशन नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । अहिले पूर्णरुपमा नखुले पनि विस्तारै खुलाउँदै लैजाने रणनीतिअनुसार आफूहरू तयारी अवस्थामै रहेको उनले बताए । 
    
सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । उडान खुलेपछि विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण सिर्जना हुनेछ ।

सञ्चालनमा आए सौराहाका होटल
यसैबीच, पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि  सञ्चालनमा ल्याएका हुन् ।  

क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने सङ्घले जनाएको छ । 

यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिए । 

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द रहेका थिए । सरकारको निर्णयअनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । उनले भने, “सुरक्षा सतर्कता अपनाएर होटल सञ्चालन गरेका छौँ, सबै व्यवसायीले सोहीअनुरुप तयारी गरिरहेका छन् ।” उनले आजदेखि सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरिएको बताए ।  

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सबै व्यवसायीले होटल सरसफाइ र व्यवस्थापन गरेको जानकारी दिए । उनले व्यवसायी होटल खोल्न पाउँदा उत्साहित भएको भन्दै आन्तरिक प्रचारप्रसारमा समेत जुटेको बताए ।   प्रचारप्रसार स्वरुप नै केहीदिन अघि साइकलयात्रा गरिएको थियो । 

होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन् । सङ्घले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायी स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहनुभएका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा ९लजिङ० मा ५० प्रतिशत छुटको घोषणा गरेका छन् । यस्तै खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छुट दिने उनले बताए ।  

यस्तै होटल पार्क इन सौराहाका सञ्चालक दीपेश चौधरीले कोठामा ५० प्रतिशत छुट दिने जानकारी दिए । उनले खाना र पेयपदार्थमा १०/१० प्रतिशत छुट घोषणा गरिएको बताए ।  उहाँले भन्नुभयो, “पर्यटकलाई स्वागत गर्न हामी आतुर छौँ, छुट दिएर पर्यटक आउने वातावरण तयार पार्दैछौँ ।” सौराहाका अन्य होटल तथा रेष्टुराँले पनि छुटको प्याकेज ल्याउने तयारी गरिरहेका छन् ।    

होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन हुने छन् । विशेष गरी जङ्गल सफारी, डुङ्गा सफारीका लागि प्रख्यात मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जङ्गल वाक हुने गर्दछ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ  । रासस

Advertisement

Advertisement