सीईओ–सञ्चालक झगडाले सनराइजमा हजारौंको निक्षेप र लगानी जोखिममा, ३ बजे बोर्ड बैठक

काठमाडौं । सनराइज बैंकको सञ्चालक र सीईओबीचको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज (बिहिबार) ३ बजे आपतकालिन बोर्ड (सञ्चालक समिति)को बैठक बोलाइएको छ । 

बोर्ड र सीईओ दुबैका लागि प्रतिष्ठाको विषय बनेको आजको बैठकमा सीईओ जनकराज शर्मा पौड्याललाई राख्ने कि निकाल्ने भन्ने विषयमा केन्द्रित रहने स्रोतको भनाई छ । बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगड सीईओ पौड्याललाई जोगाउन लागेका छन् भने अरु सञ्चालकहरु राख्नै नहुने पक्षमा छन् । 


बैंकका गुटबन्दी गरेको, सम्झौताअनुसार काम नगरेको भन्दै सञ्चालक समितिले तीन दिने स्पष्टिकरण सोधे पनि सीईओ पौड्यालले स्पष्टिकरण दिन मानेका छैनन् । उल्टै अर्थमन्त्रीदेखि बैंकर्स एशोसियशनका अध्यक्षलाई फोन गरेर आफूलाई थमौती गर्न प्रयासमा लागेको स्रोतको भनाई छ । 

चर्को दबाबका कारण अध्यक्ष दुगडले आज ३ बजेलाई बोर्ड बैठक बोलाएका हुन् । बोर्डले कस्तो निर्णय गर्ने हो ? भन्नेबारे विभिन्न अड्कलबाजी सुरु भएका छन् । अर्थमन्त्रीसमेतको दबाबका कारण सीईओलाई कारवाही गर्न दुई चार दिन ढिलो भए पनि नैतिकरुपमा उनले अब सीईओ बनेर बस्न नमिल्ने बैंक स्रोतको भनाई छ । 
 
सीईओ पौड्यालले भने आफूलाई सञ्चालक समितिले अनावश्यक दबाब दिएको भन्दै गुनासो पोख्दै आएका छन् । सञ्चालक समितिले अधिकार कटौती गरेपछि अधिकारविहीन अवस्थामा रहेका पौड्याललाई बोर्ड बैठकमा समेत बोलाउन बन्द गरिएको छ । अध्यक्ष दुगड सीईओलाई बचाउने प्रयासमा रहे पनि सञ्चालकहरु मान्ने पक्षमा देखिन्न् । 

सञ्चालक समितिले सोधेको स्पष्टीकरणको जवाफ नलेखेर सीईओ जनक शर्मा पौड्यालले उल्टै शक्ति केन्द्रमार्फत धम्काएपछि बैंकको आन्तरिक विवाद पेचिलो बनेको हो । अधिकांश सञ्चालकहरु एक हुँदा अध्यक्ष दुगड पनि बाध्य भएर उनीहरुलाई साथ लिएका छन् । सिंगो सञ्चालक समिति एकातिर र सीईओ पौड्याल अर्कातिर छन् । 

सम्भावित निर्णय 
बहुमत सञ्चालकहरु सीईओ पौड्याललाई कुनै पनि हालतमा राख्न नहुने पक्षमा छन् । उनीहरु आजै उनलाई बिदा गरेर नयाँ सीईओ नियुक्ति गर्नुपर्ने पक्षमा देखिन्छन् । सीमित कर्मचारीहरुको गुटबन्दी गरेर काम गर्ने उनको शैलीले बैंक झन धरासायी हुने उनीहरुको तर्क देखिन्छ । तर, नहटाउन चर्को दबाब परेकाले कारवाही केही दिन तामेलीमा राख्ने संभावना रहेको स्रोतको भनाई छ । 
 
पौड्याललाई आत्मालोचना सहित स्पष्टिकरण पेश गर्न मौका दिने, स्पष्टिकरण चित्तबुझ्दो आयो भने थमौती गर्न सकिने स्रोतको भनाई छ । 

सीईओ पक्षले भने आफूहरुले सञ्चालकविरुद्ध राष्ट्र बैंकमा उजुरी हालेको र सोही उजुरीका आधारमा उनीहरुलाई साइजमा ल्याउन आफूहरु लागिरहेको बताएको छ । बैंकका एक वरिष्ठ कर्मचारीले सीईओविरुद्ध लाग्ने सञ्चालकहरुविरुद्ध राष्ट्र बैंकमा उजुरी दर्ता भइसकेको र त्यसमा अन्य बैंकका केही सञ्चालकहरुले समेत सुझाव साथ दिएको बताएका छन् । 

आजको बोर्ड बैठकबाट विज्ञ सञ्चालक ओमकृष्ण जोशीलाई राजीनामा गराउने प्रयासमा सीईओ पौड्याल लागेका छन् । ‘सीईओले राम्रो शक्ति सञ्चय गरेको देखिन्छ, सञ्चालकहरुलाई बिजनेश र अन्य थ्रेट दिएर पछि हट्न बाध्य पार्ने सम्भावना बढेको छ’, सनराइज बैंक उच्च स्रोतले भन्यो । 

सञ्चालकमाथि नैतिक प्रश्न
सीईओले राम्रो काम नगरेको भन्दै ६ बुँदे आरोपपत्र दर्ता गराउने पाँच जना सञ्चालक र त्यसकै आधारमा स्पष्टिकरण सोध्ने सञ्चालक समितिमाथि अहिले नैतिक प्रश्न उठेको छ । तपाईंलाई किन नहटाउने ? भनी सोधिएको प्रश्नको जवाफ नदिएपछि बाहिरी दबाबकै कारण सीईओ नहटाउन सञ्चालक समितिमाथि ठूलो नैतिक दबाब बढेको हो । 

‘हिम्मत भए हटाएर देखाउनुस्’ भन्दै ठाडै चुनौती दिने सीईओलाई के आधारमा पुनः थमौति दिने ? भन्ने प्रश्नले सञ्चालकहरुलाई अहिले पोलिरहेको छ । सञ्चालक समितिलाई विश्वासमा लिएर सीईओले काम गर्ने कि सीईओले सञ्चालक समितिलाई नियन्त्रण गर्ने ? यतिबेला प्रश्न उठेको छ । 

करार सम्झौताअनुसार जागिर खान आएका एक जना कर्मचारी र लगानीकर्ताहरुको हकहितको रक्षा गर्छौं भन्दै उनीहरुको प्रतिनिधि भएर आएका सञ्चालकबीच जोडिनै नसक्नेगरी सम्वन्ध चिरा परेको छ । लाखौं लगानीकर्ताको प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई एक जना कर्मचारीले तह लगाएको सन्देश जाने गरि पौड्याललाई निरन्तरता दिँदा गलत सन्देश जाने स्रोतको भनाई छ । 

यता अरु बैंकका सीईओहरु पौड्याललाई नजोगाउने हो भने त्यो काल आफ्नोतिर 
पनि पल्किनेसक्ने चिन्तामा छन् । तर, सीईओले शक्ति केन्द्रहरुलाई भन्न लगाएर आफूलाई निरन्तरता दिन खोज्ने कुराले त्यो बैंक कति दिन चल्छ ? भन्ने प्रश्न बैंकिङ क्षेत्रमा देखिन्छ । मन अमिलो गरेर सीईओ पौड्यालले बाँकी लामो समय कसरी काम गर्न सक्छन् र ? उनको प्रश्न छ । 

पौड्याललाई सनराइज छोड्न साथीहरुको सुझाव 
सीईओ पौड्यालसँग नजिक रहेका उनका सहपाठीहरुले पनि पौड्याललाई बैंक छोड्न सुझाव दिएका छन् । उनीसँग नजिक रहेका अधिकांश सीईओहरुले सञ्चालकसँग झगडा गरेपछि बैंकमा बस्न नसकिने भएकाले राजीनामा गर्न सुझाव दिएका हुन् । मिल्छ भने एकाध महिना जागिर खाने, नभए अहिले नै राजीनामा दिँदा राम्रो हुने पौड्यालका हितौषी एक सीईओले बताए । 

अधिकार सबै कटौती
शक्ति केन्द्रमार्फत सीईओ पद थमौति सफल भएकै खण्डमा पनि पौड्यालका पखेँटा काटेरै छोड्ने निचोडमा सञ्चालकहरु पुगेका छन् । अहिले पनि पौड्यालले जम्मा ४ करोड ५० लाख देखि ५ करोड रुपियाँसम्मका ऋणका फाइल मात्रै हेर्ने अधिकार पाएका छन् । तर, त्यसरी फाइल तयार हुँदा उनको अख्तियारी क्षेत्रमै नपार्ने गरिएको छ । या त तलबाटै स्वीकृत हुनेगरी साढे चार करोड भन्दा साना फाइल तयार हुन्छन् नभए सञ्चालक समितिमा पठाउने गरि पाँच करोड भन्दा ठूला फाइल तयार हुने गरेका छन् । 

‘अफिस आउने फेसबुक चलाउने घर जाने गरि सर्तमा मात्रै पैड्यालको पद कायम रहन सक्छ’, स्रोतले भन्यो ।