नेटवर्किङ व्यवसायी गर्ने कम्पनीहरुलाई अनुमति दिएकोमा छानबिन उपसमिति गठन

Advertisement

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसाय गर्ने कम्पनीलाई अनुमति दिएकोबारे छानबिन गर्न उपसमिति बनाएको छ । समितिको बिहीबार बसेको बैठकले सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति बनाएको हो । 


उपसमितिको सदस्यहरुमा प्रकाश रसाइली, अमृता अग्रहरि, कृष्णकुमार श्रेष्ठ र सरिताकुमारी गिरी रहेका छन् । कृष्णकुमार श्रेष्ठ यसअघि साँसद अपरहण काण्डमा मुछिएका साँसद हुन् । उपसमितिलाई अध्ययनका लागि १५ दिनको समय दिइएको छ । 

Advertisement

सरकारले यसअघि सात वटा कम्पनीलाई नेटवर्किङ व्यवसाय गर्न अनुमति दिएको थियो । थप छ वटालाई अनुमति दिने तयारी गरेको छ । नेटवर्किङ व्यवसायले गर्दा हजारौं मानिसहरुको अर्बौं रुपियाँ डुबेको घटना सेलाउन नपाउँदै फेरि अनुमति दिइएपछि विवादमा परेको हो । उपसमितिको छानबिन प्रतिवेदनका आधारमा अनुमति रद्द गर्न दिने नदिनेबारे निर्णय गरिने समितिले जनाएको छ । 

बैठकमा समितिका सदस्यहरुले नेटवर्किङ व्यवसाय गर्ने कम्पनीहरुको इजाजज खारेज गर्नुपर्ने भन्दै सरकारको निर्णयको आलोचना गरेका थिए । सरकारले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन ०७४ र नियमावली ०७६ अनुसार असार १६ यता ७ कम्पनीलाई इजाजत दिइसकेको थियो ।

Advertisement

Advertisement