प्रचण्डलाई छोडेका पूर्वमाओवादी नेता भन्छन्– पाँच बर्ष ओलीलाई हटाउन पाइन्न

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन् । रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन् ।’

भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर इतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने बताए । उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए । पूर्वमाओवादी नेता भए पनि भट्ट अहिले ओलीको समूहमा प्रवेश गरेका छन् । 

Advertisement

भट्टले भने, ‘सबै एकै ठाउँमा आउनुहुन्छ । र, सहमति हुन्छ । सहमतिको विकल्प छैन् ।’ आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परिणाम निकाल्ने रहेकोले अहिले पनि सहमति हुने उनको दाबी छ । उनले भने, ‘पार्टी एकता, संघर्ष र रुपान्तरणबाटै चल्ने हो ।’

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे । यद्यपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए । उनले भने, ‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं ।’ वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिने पनि उनले जनाए ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशन पनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ । भट्टले भने, ‘हामी महाधिवेशनबाट नेतृत्व पनि सहमतिमै टुँगो लगाउँछौं ।’ मन्त्री भट्टले आफू नेताविशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पारे । उनले भने, ‘म दुवै अध्यक्षको क्याम्पमा छु । दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ । यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ । र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही । तर, म एकताको पक्षमा छु । पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाईन हो ।’

उनले पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण बढेकोबारे सरकारको पर्याप्त ध्यान गएको र अब कसरी अघि बढ्ने भन्नेबारे आजै साँझ चार बजे सिसिएमसीको बैठक बस्ने र त्यही बैठकबाट महत्वपूर्ण निर्णय लिईने पनि जानकारी दिए । उनले भने, ‘हिजो हामीले लकडाउन गरेकै कारण कोरोनाबाट हामीलाई बचायो । अहिले जहाँ बढि संक्रमण फैलिएको छ, समूदायस्तरमा कोरोनाको संक्रमण देखिएको हो वा होईन भन्नेबारे स्वास्थ्य मन्त्रालयले अध्ययन गरेर आज प्रस्ताव ल्याउँदैछ, संक्रमणको जोखिम हेरेर ती क्षेत्रमा लकडाउनपनि गर्नुपर्ने हुनसक्छ ।’

उनले कोभिड–१९ को संक्रमणका कारण देश गम्भीर मोडमा रहेको र सिंगो देश नै अहिले कोरोनाविरुद्ध लडिरहेको सुनाए । उनले भने, ‘तपाई हामी सबै कोरोनाविरुद्ध संघर्ष गरिरहेका छौं । अहिले हामी कोरोनासँग एक किसिमको लिभिङ टुगेदरको अवस्थामा छौं । नेपालमा तथ्यांक हेर्दा हामी विजयतर्फउन्मुख भएका छौं । अहिले कोरोना संक्रमण जित्नेहरुको संख्या ठूलो छ ।’

मन्त्री भट्टले पछिल्लो समय तरकारीमा महँगी बढ्नुमा बाढिरपहिरोले गर्दा बाटो तथा सडक अवरोध हुनु नै मुख्य कारण रहेको सुनाए । उनले भने, ‘बाढि पहिरोले बाटो अवरोध हुँदा नियमित आपूर्तिमा बाधा पुगेको छ । त्यही भएर तरकारी महँगी भएको हो । यसबारेमा वाणिज्य विभागले विशेष ध्यान दिएको छ ।’ सरकारले कालोबजारी नियन्त्रणको लागि महत्वपूर्ण काम गरिरहेको उनले दाबी गरे ।

भट्टले भने, ‘हामीले देशभरिका बजार बुझेका छौं । सोहीअनुसार बजार अनुगमनका काम भैरहेका छन् । गलत गर्नेलाई कारबाही भैरहेको छ ।’ उनले बजार व्यवस्थित् गर्ने र गाउँको उत्पादन शहरसम्म ल्याउने र शहरका सामग्री गाउँसम्म पुर्याउने कामपनि सहज रुपमा गर्नेगरि सञ्जाल निर्माण गर्ने कामपनि भैरहेको जानकारी दिए । उनले खाद्यवस्तुमा महँगी बढ्न नदिनेगरि सरकारले काम गरेको विश्वास दिलाए ।

Advertisement

Advertisement