सनराइजको बोर्ड बैठकमा अर्थमन्त्रीका छोरा हावी, सात जना सञ्चालकहरु निरीह

Advertisement

काठमाडौं । सनराइज बैंकभित्र केही दिनदेखि देखिएको द्धन्द्धको अस्थायी युद्धविराम भएको छ । बैंक सञ्चालक समितिको बिहीबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाका छोरा तिलक हावी भएपछि सीईओ जनकराज शर्मा पौड्याललाई अवकाश दिने समितिको तयारी दुई महिनाका लागि पर सरेको छ । 

मन्त्रीको दबाबमा पौड्याललाई कारवाही गर्ने कुराबाट अरु सञ्चालकहरु पछि हटेपछि विज्ञ सञ्चालक ओमकृष्ण जोशीले नैतिकताका अधारमा बैठकमै राजीनामा दिएर हिँडे । मन्त्रीको छोराले दबाबमा परेर सञ्चालक समिति पछि हट्ने हो भने गलत नजिर बस्ने र बैंक झन समस्यामा पर्ने भन्दै उनले समिति कसैको दबाबमा पर्न नहुने बताएका थिए । जोशीले त्यसो भन्दा अध्यक्षदेखि सञ्चालकहरु एकले अर्कोलाई हेर्दै न्याउरो मुख लगाएर बसेका थिए ।

Advertisement

सम्झौताअनुसार काम नगरेको, बैंकमा गुटबन्दी गरेको जस्ता छ वटा आरोपसहित सीईओ पौड्याललाई साउन ८ गते सञ्चालक समितिका सदस्य सबैले सर्वसम्मतरुपमा स्पष्टिकरण सोध्न राजी भएका थिए । पौड्याललाई अवकाश नै दिने भनेर सबैको एउटै निचोडका आधारमा तीन दिने स्पष्टिकरण सोधिए पनि सोही तीन दिन सीईओ पौड्याल र अर्थमन्त्रीका छोरा खतिवडालाई चलखेल गर्ने मौका बनेको स्रोतको भनाई छ । 

किन हटाउन खोजिएको थियो सीईओलाई ? 
सनराइज बैंकभित्र रहेका विभिन्न समिति छन्, जसको संयोजक सञ्चालक हुन्छन् । ती समितिहरुले तयार पारेको प्रतिवेदनमा कैफियत भेटियो । सबै समितिको प्रतिवेदनमा एउटै खालको समस्या देखिएपछि त्यो कैफियतको जरो खोज्दै जाँदा सीईओ पौड्याल र आईटी हेडका रुपमा रहेका अर्थमन्त्रीका छोरा तिलकसँग पुग्यो । त्यो कैफियत के थियो ? स्रोतले खुलाउन चाहेन् । 

संगठितरुपमा नै भएको उक्त कमजोरीका बारेमा सञ्चालकहरुले बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडसमक्ष कुरा गरेपछि दुगडसमेत सीईओलाई हटाउनुको बिकल्न नरहेको निष्कर्षमा पुगे । सोही बैठकमा पाँच जना सञ्चालकहरुले हस्ताक्षर गरेर अध्यक्ष दुगडलाई छ बुँदे अभियोगपत्र पनि बुझाए । त्यसअघि पनि पटक पटक सीईओ पौड्याललाई राखेर राजीनामा दिन सञ्चालकहरुले संकेत दिएका थिए । तर, उनले कुरा नबुझेजस्तो गरेर आलटाल गर्दै आएका थिए । 

राजीनामा दिएर नजाने लक्षण देखेपछि सञ्चालक समितिले उनलाई अवकाश दिने भनेर नै साउन ८ मा स्पष्टिकरण सोधेको थियो । सोही दिन अवकाश दिनुपर्नेमा आफूहरुले तीन दिने स्पष्टिकरण सोधेर गल्ती गरेको एक सञ्चालकले स्वीकार गरे । उनले भने, ‘हामीले स्पष्टिकरणको मौका दिने, चित्त बुझ्दो जवाफ आयो भने पौड्याललाई निरन्तरता दिने भन्ने सोच नै बनाएको होइन् । उनलाई बिदा गरेर बैंक जोगायौं  भनेको । तर गल्ती भएछ ।’

सीईओ गएपछि आईटी प्रमुख खतिवडा पनि नैतिकरुपमा राजीनामा दिन बाध्य हुने सञ्चालकहरुको विश्लेषण थियो । खतिवडालाई पौड्यालले एकै पटक दुई तह बढुवा गरेर बैंकको आइटी हेड बनाएका थिए । स्पष्टिकरणका लागि दिइएको तीन दिनमा खतिवडाले सीईओ पौड्याललाई न राजीनामा दिन दिए न स्पष्टिकरण बुझाउन दिए । बरु उनले आफ्ना बाबु युवराज खतिवडादेखि बैंकर्स एशोसियशनका अध्यक्ष भुवन दाहालसम्म संभव भएसम्म सबै ठाउँबाट फोन गरेर कारवाही फिर्ता गर्न दबाब दिए । त्यसबाट सञ्चालक समिति पछि नहट्ने संकेत देखिएपछि आन्तरिक राजश्व कार्यालयबाट फोन गराउन सुरु भयो । एक एक गरी सबै सञ्चालकहरुलाई करको कुरा उठाउँदै धम्क्याउने काम हुनथाल्यो । बाबु अर्थमन्त्री भएकाले तिलकको सहज पहुँच आन्तरिक राजश्वमा हुनु स्वाभाविक हो । सोही पहुँचलाइ दुरुपयोग गर्दै बैंकमाथि अनावश्यक दबाब दिने काम भएको एक सञ्चालकले स्वीकार गरे । उनी यसलाई अर्थमन्त्रीको नीतिगत भ्रष्टाचार भन्छन् ।  

अरुको दबाब थेग्न सकिन्थ्यो, आन्तरिक राजश्व विभागबाट करको कुरा उठाएर दबाब दिएपछि सञ्चालकहरु पछि हट्न बाध्य भएको स्रोतको भनाई छ । तिलक र पौड्यालसहितको टिमले सनराइजको स्पष्टिकरणको विषयलाई राष्ट्र बैंकसम्म पुर्याएका थिए । राष्ट्र बैंकले मिलेर समस्याको समाधान निकाल्न मात्रै सुझाव दिएको थियो । 

Advertisement

Advertisement