साढे १४ किलो चाँदी र आधा किलो सुन तस्करीमा युनुस अन्सारीको ‘कनेक्सन’को आशंका

Advertisement

काठमाडौं । सुन्धाराबाट बरामद साढे १४ किलो चाँदी र आधा किलो सुन तस्करीको घटनामा प्रहरीले नक्कली भारतीय रुपियाँ कारोबारमा जेलमा रहेका युनुस अन्सारीको ‘कनेक्सन’ खोज्न थालेको छ । तस्करीमा संलग्न मुख्य अभियुक्त युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानमा उनको ‘कनेक्सन’ खोज्न थालेको हो । यद्यपि, घटनामा कमिसन पाउने चक्करमा प्रहरी अधिकारीबाटै समेत त्रुटि भएको पाइएको छ । 

तस्करीमा संलग्न मुख्य अभियुक्त पर्साका इल्ताफ हुसेन अन्सारी युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानको एउटा पाटो युनुसतिर मोडेको छ । इल्ताफ नक्कली भारतीय रुपियाँ तस्करीमा यसअघि जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् । प्रहरीका अनुसार युनुस र इल्ताफले संयुक्त रूपमा नक्कली भरतीय रुपियाँको कारोबार गर्थे । युनुसकै छत्रछायामा इल्ताफ नक्कली भारतीय रुपियाँ कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ । 

Advertisement

यसैलाई आधार मानेर प्रहरीले १४ किलो चाँदी र आधा किलो सुन तस्करीमा युनुसको संलग्नता खोज्न थालेको हो । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अनुसन्धान विभिन्न कोणबाट हुन्छ र एउटा कोण युनुसतर्फ केन्द्रित भएको साँचो हो । तथ्य के आउला पछिको कुरा हो । इल्ताफ र युनुस नक्कली भारतीय रुपियाँको कारोबारमा विगतमा सँगै संलग्न भएको घटना स्थापित नै छ । त्यसो हुँदा अहिले पनि यी दुईबीच सम्बन्ध हुन सक्ने हाम्रो अनुमान छ । त्यसैले अनुसन्धान गरिनु स्वाभाविक हो ।’

नक्कली भारतीय रुपियाँ कारोबारमा पटक–पटक पक्राउ परेका युनुस अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । मंगलबार सुन्धाराबाट एकाएक गायब भएको स्कार्पियो अन्सारीकै निवासस्थल नख्खिपोट क्षेत्रमा भेटिएका कारण पनि घटनामा दुईबीच सम्बन्ध हुनसक्ने प्रहरीको अनुमान छ । 

अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि अनुसन्धान युनुससँग केन्द्रित रहेको संकेत गरे । उनले भने, ‘घटना गम्भीर छ । गम्भीर ढंगले अनुसन्धान हुनु स्वाभाविक हो । यस्ता घटनामा विगतका दिनमा अपराधमा संलग्न अनुसन्धानको घेरामा पर्नु स्वाभाविक हो । सत्य–तथ्य अनुसन्धानपछि खुल्ने विषय हुन् ।’


नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement