भ्रष्टाचार विरोधी इमान्दार कर्मचारी प्रेम सञ्जेलमाथि कुटपिट

Advertisement

विराटनगर । प्रशासनदेखि राजनीतिक तहमा हुने भ्रष्टाचारको कडा आलोचना गर्दै आएका इमान्दार सरकारी कर्मचारी प्रेम सञ्जेलमाथि कुटपिट भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव सञ्जेल आफ्नै कार्यालयका कर्मचारीबाट कार्यकक्षमै कुटपिट भएको हो । 

भ्रष्टाचार विरोधी अभियान्ताको रुपमा चिनिएका सञ्जेलबिहान ११ बजे आफ्नै कार्यालयका महिला कर्मचारीले कुटपिट गरेका हुन् । कुटपिट गर्ने करार सेवामा काम गर्ने कार्यालयका सहयोगी कर्मचारी नेत्रा भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला) रहेको प्रहरीले जनाएको छ । 

Advertisement

दुवै जना मिलेर आफूले लगाएको चप्पल, टेबुलमाथि राखेको पेपर वेटर, पञ्चिङ मेसिनलगायतले प्रहार गरेका थिए । प्रहारबाट सञ्जेलको निधारमा चोट लागेको छ भने ओठ फुटेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कुटपिटमा संलग्नहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको बताएका छन् । 

भ्रष्टाचारको विरोध गर्दा उनलाई यसअघि अख्तियार दुरुपयोग अनुसन्धानमा फर्जी उजुरी हालेर फँसाउने प्रयास भएको थियो । आफ्नो कार्यालयमा एक रुपमा पनि भ्रष्टाचार गर्न नदिएपछि धेरै कर्मचारी उनीदेखि रुष्ट रहँदै आएका थिए । सेवाग्राहीलाई दुःख दिने र पैसा माग्ने काम गरेको थाहा पाउनासाथै उनले त्यस्ता कर्मचारीलाई कारवाही गर्दै आएका थिए । 

बदमासी गरेको भन्दै शुक्रबार मात्रै करार सेवामा काम गर्ने एक कर्मचारी निर्मल दाहाललाई सञ्जेलले कामबाट निकालिदिएका थिए । कार्यालयको मोटर चोरी भएपछि करार सेवाका कर्मचारीहरुलाई सञ्जेलले पालैपालो गरेर कडा ड्युटी गर्न लगाएका थिए । सोही रिसमा भट्टराई र सापकोटाले उनलाई आक्रमण गरेको जनाइएको छ । सञ्जेलले आफूहरुलाई अनावश्यक दुःख दिएको उनीहरुको गुनासो छ । 
 

Advertisement

Advertisement