अढाई खर्बका यस्ता सामान आयात, जो सजिलै स्वदेशमा उत्पादन गर्न सकिन्छ

Advertisement

काठमाडौं । पेट्रोलियम पदार्थ, उद्योगका लागि चाहिने पार्टपुर्जा नेपालमा उत्पादन गर्न कठिन छ। स्वदेशमा उत्पादन गर्न नसकिने वस्तु विदेशबाट आयात गर्नु स्वाभाविक हो।  तर, नेपाली भान्सामा विदेशमा फलेका तरकारी तथा खाद्यान्न पाकिरहेका छन्। हरेक दिन उपभोक्ताले बिहान–बेलुका तरकारीमा प्रयोग गर्ने धनिया, जिरालगायत मसला अर्जेन्टिना, रुस, नामिबिया, भारत, बुल्गेरियालगायत मुलुकबाट ल्याइन्छ। 

पाखोबारीमा फलाउन सकिने बेसार भारत, म्यानमार, चीन, जापान, पाकिस्तान, युनाइटेड अरब इमिरेट्सबाट ल्याएर प्रयोग गरिन्छ। गत आवमा ६५ करोड रुपियाँको बेसार विदेशबाट ल्याइएको छ। तरकारीका रुपमा प्रयोग हुने सोयाविन अमेरिका, क्यानाडाबाट ल्याइन्छ। भान्सादेखि बिस्तारासम्म विदेशमा उत्पादित वस्तुको प्रयोग भैरहेको छ।  

Advertisement

यी तथ्यले कृषि तथा पशुजन्य वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने सरकारी लक्ष्यलाई गिज्याइरहेको छ। सरकारले कृषिमा आत्मनिर्भरताको नारा लगाउँदै आए पनि उपभोक्ताले आर्थिक वर्ष ०७६।७७ मा मात्रै करिब साढे दुई खर्ब रुपियाँका विदेशमा उत्पादित कृषि, पशु तथा वनजन्य वस्तु प्रयोग गरेका छन्।

स्वदेशमा उत्पादन गर्न सकिने वस्तुमा विदेशीको भर पर्दा यहाँका खेतबारी, गोठ, वनमा उत्पादन गर्न सकिने वस्तुमा परनिर्भर हुनुपरेको छ। कोभिड–१९ ले मुलुक लकडाउनमा गएर आयात घटे पनि आर्थिक वर्ष ०७६।७७ मा दुई खर्ब ४३ अर्ब रुपियाँका कृषि, पशु तथा वनजन्य वस्तु विदेशबाट आयात भएको भन्सार विभाग तथ्यांकले देखाउँछ।

स्वदेशमा उत्पादन गर्न नसकिने वस्तु आयात गर्नु स्वाभाविक भए पनि यहाँ उत्पादन गर्न सकिने वस्तु उत्पादन गर्न नसक्नु राज्यका निकायको कमजोरी देख्छन् कृषि अर्थविज्ञ हरि दाहाल। ‘कृषि राज्यको प्राथमिकतामा परेको छैन,’ दाहालले भने, ‘कृषि क्षेत्रमा सही नीति नहुँदा उत्पादन वृद्धि हुन सकेको छैन। कृषिमा व्यावसायीकरण हुन सकेको छैन। यहाँका उत्पादन प्रतिस्पर्धी हुन नक्सदा विदेशबाट आयात भैरहेको छ।’ नेपालको उत्पादकत्व दक्षिण एसियामा कमजोर भएको उनले बताए। उत्पादन वृद्धि गर्न अनुदान, उत्पादित वस्तुको बजार सुनिश्चित, मल, बिउ, प्रविधि, सिँचाइको सहज पहुँच नहुँदा कृषिमा आकर्षण बढ्न सकेको छैन। कृषिमा आकर्षण बढ्न नसक्दा र लगानीका आधारमा प्रतिफल प्राप्त नहुँदा उत्पादन वृद्धि हुन नसकेको हो। ‘स्वदेशमा उत्पादन नभएपछि स्वतः विदेशबाट आयात भैहाल्छ,’ दाहालले भने, ‘विदेशी कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ।’  

नागरिक दैनिकबाट । 

Advertisement

Advertisement