साक्षी राखेर कुरा गर्दा पनि ओलीले अडान नछोडेपछि प्रचण्ड निराश

Advertisement

काठमाडौं । एक्लाएक्लै वार्ता गर्दा केपी ओली सहमतिमा नआएको भन्दै साक्षी राखेर वार्ता गर्ने नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तरिका पनि फेल आएको छ । प्रचण्डले आइतबार नेता झलनाथ खनाललाई साक्षी राखेर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीसँग वार्ता गरेका थिए । 

आजको वार्तामा पनि ओलीले दुवै पद नछाड्ने अडान राखेपछि प्रचण्ड निराश भएका छन् । वार्तामा ओलीको तर्फबाट सुवाश नेम्वाङ पनि सहभागी थिए । वार्तामा दुवै नेताबीच आरोपप्रत्यारोप चलेको थियो । उनीहरुबीच साउन १३ गतेको स्थायी समिति बैठकसम्वन्धी घट्नालाई लिएर एकले अर्कोलाई दोषी ठहर्याएका थिए । 

Advertisement

उक्त दिन ओलीले एकतर्फीरुपमा स्थगित गरेपछि दाहालले बहुमत सदस्य राखेर बैठक गरेका थिए । हरेक दिनजसो सहमति खोज्न वार्ता गर्दै आएका ओली र प्रचण्ड उक्त दिनपछि वार्ता बन्द गरेका थिए । आज उनीहरुबीच साक्षी राखेर बार्ता भएको हो । 

प्रचण्डले पार्टीभित्रको गतिरोध हटाउन ओलीले कम्तिमा एक पद छोड्नुपर्ने अडान दोहोर्याएका थिए । तर, ओली त्यो कुरामा पटक्कै सहमत हुन नसकेको समाचार छ । तीन घण्टा लामो छलफल हुँदा पनि कुनै सहमति बन्न नसकेको बैठकमा सहभागी नेताहरुले खुलासा गरेका छन् । कम्तिमा एक पद छोड्न प्रचण्डले आग्रह गर्दा त्यस्तो कुरा नगर्नुस्, मैले अहिले पद छोड्न मिल्दैन भन्दै ओलीले उल्टै हप्काएका थिए । बरु छिटो महाधिवेशन गर्न सकिने उनको विकल्प थियो । 

त्यसपछि विकल्पमा प्रचण्डले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक चाँडै बोलाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, ओली स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका लागि तयार नभएपछि बैठक बिना सहमति टुँगिएको जनाइएको छ । 

Advertisement

Advertisement